भद्रपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले पूर्व–पश्चिम राजमार्गको सट्टा हुलाकी राजमार्गलाई रोज्दै दुई महिने मेची–महाकाली पदयात्रा सुरु गरेका छन् ।

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद सिंहले मंगलबार बिहान झापाको भद्रपुरस्थित मेची पुलबाट पदयात्रा थालेका हुन् । करिब ५० जनाको सहभागितामा सुरु भएको यात्रामा झापा क्षेत्र नम्बर ४ का सांसद शम्भुप्रसाद ढकाल, क्षेत्र नम्बर ३ का सांसद प्रकाश पाठकलगायत नेता तथा कार्यकर्ता सहभागी छन् ।

पूर्व–पश्चिम राजमार्ग केन्द्रित राजनीतिक यात्राको परम्परा तोड्दै हुलाकी मार्ग रोज्नुलाई मधेसका ग्रामीण बस्ती, सीमावर्ती क्षेत्र र जनताका वास्तविक समस्या बुझ्ने राजनीतिक सन्देशका रूपमा हेरिएको छ ।

पदयात्राका क्रममा विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि र सुशासनका विषयमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने सांसद सिंहले बताएका छन् । स्थानीय गुनासा र सुझावलाई राष्ट्रिय राजनीतिक बहसमा पुर्‍याउने उनको उद्देश्य छ ।

यात्राको पहिलो दिन सिंहको बास झापा क्षेत्र नम्बर ३ अन्तर्गत राजगढमा हुने बताइएको छ । त्यहाँ स्थानीय राजनीतिक दलका नेता, कार्यकर्ता तथा सर्वसाधारणसँग भेटघाट गर्ने कार्यक्रम छ ।

सांसद ढकालका अनुसार देशमा स्थायी सरकार, शान्ति, अमनचयन र भाइचारा कायम गर्नुका साथै विखण्डनकारी गतिविधि रोक्ने उद्देश्यले पदयात्रा सुरु गरिएको हो ।