शेनझेन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच पहिलो त्रिपक्षीय शिखर सम्मेलन बिहीबार चीनको शेनझेनमा आयोजना हुने भएको छ। एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) मञ्चको अवसरमा हुन लागेको उक्त बैठकलाई विश्व कूटनीतिमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

बैठकको पूर्वसन्ध्यामा बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङले दक्षिण चीनको ग्वाङडोङ प्रान्तस्थित शेनझेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राष्ट्रपति ट्रम्पको भव्य स्वागत गरेका छन्।

स्वागतका क्रममा चिनियाँ जनमुक्ति सेनाका सुरक्षाकर्मीले ट्रम्पलाई सलामी दिएका थिए। एक बालिकाले उनलाई फूलको गुच्छा प्रदान गरेकी थिइन्। विमानस्थलमा चीन र अमेरिकाका राष्ट्रिय झण्डा फहराइएको थियो भने सैन्य ब्याण्डले दुवै देशका राष्ट्रिय धुन बजाएको थियो। लडाकु विमानहरूले आकाशबाट सलामीसमेत दिएका थिए।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार दुवै राष्ट्रपतिले विमानस्थलमा उपस्थित युवाहरूलाई हात हल्लाएर अभिवादन गरेका थिए।

स्वागत समारोहमा राष्ट्रपति सीले यसै वर्ष सेप्टेम्बरमा आफूले गरेको अमेरिका भ्रमणको स्मरण गर्दै अमेरिकी राष्ट्रपति ट्रम्प र उनकी पत्नीले विमानस्थलमै पुगेर भव्य स्वागत गरेको उल्लेख गरे। चीन शिष्टाचारलाई महत्त्व दिने देश भएको बताउँदै उनले अरूबाट प्राप्त सद्भावनाको जवाफ पनि त्यही सम्मानका साथ दिने बताए।

ट्रम्पको पुनः चीन आगमनप्रति खुसी व्यक्त गर्दै सीले द्विपक्षीय सम्बन्ध, एसिया–प्रशान्त क्षेत्रीय सहकार्य तथा विश्व परिस्थितिसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा विस्तृत छलफल गर्न आफू उत्सुक रहेको बताए। सम्मान, निष्पक्षता र आपसी सद्भावनामा आधारित रचनात्मक चीन–अमेरिका सम्बन्ध निर्माण गर्दै रणनीतिक स्थिरता कायम गर्नुपर्ने उनको भनाइ थियो।

अमेरिकी राष्ट्रपति ट्रम्पले विमानस्थलमा गरिएको विशेष स्वागतका लागि सीलाई धन्यवाद दिए। पुनः चीन आउन पाउँदा आफू अत्यन्त खुसी भएको बताउँदै उनले चीनलाई महान् देश र सी जिनपिङलाई महान् नेता भन्दै प्रशंसा गरे।

सीसँगका प्रत्येक भेट सुखद रहेको उल्लेख गर्दै ट्रम्पले यस भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने र भ्रमण पूर्ण सफल हुने विश्वास व्यक्त गरे।

यसैबीच, अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्पले चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनसँग परमाणु हतियार कटौतीका विषयमा छलफल गर्ने तयारी गरेका छन्। यद्यपि, उक्त त्रिपक्षीय बैठकबाट तत्काल कुनै ठोस सम्झौता हुने अपेक्षा अमेरिकाले गरेको छैन।

नाम सार्वजनिक नगर्ने सर्तमा एक वरिष्ठ अमेरिकी अधिकारीले प्रस्तावित छलफललाई परमाणु हतियार कटौतीसम्बन्धी वार्ताको सुरुआतका रूपमा लिनुपर्ने बताएका छन्। तत्कालै कुनै सम्झौता हुने अपेक्षा नरहेको उनको भनाइ छ।

ट्रम्पले सी र पुटिनसँगको भेटमा इरानको विषयसमेत उठाउने तयारी गरेको अमेरिकी अधिकारीले बताएका छन्। तर, युक्रेन युद्ध भने उक्त बैठकको एजेन्डामा समावेश हुने सम्भावना नरहेको जनाइएको छ। युक्रेनसम्बन्धी विषयमा रुससँग छुट्टै वार्ता भइरहेको अमेरिकी पक्षको भनाइ छ।

परमाणु हतियारसम्बन्धी छलफल क्षेत्रीय कूटनीति र व्यापार सम्झौता कार्यान्वयनको प्रयाससँगै अघि बढाइने कार्यक्रमको एक हिस्सा हो।

व्यापारिक विषयमा भने चीनसँग नयाँ भन्सार शुल्क (ट्यारिफ) सम्झौता घोषणा गर्नुभन्दा यसअघि भएका सम्झौता कार्यान्वयनमा ल्याउने विषयलाई अमेरिकाले प्राथमिकता दिने भएको छ।

अमेरिकी अधिकारीका अनुसार यसै साताको सुरुआतमा अमेरिकी व्यापार प्रतिनिधि र अर्थ मन्त्रालयका अधिकारीहरूले बोर्ड अफ ट्रेडमार्फत चिनियाँ समकक्षीसँग छलफल गरेका थिए। उक्त छलफलमा सम्भावित भन्सार शुल्क परिवर्तन तथा व्यापार सम्झौताको प्रभावकारिता घटाउन सक्ने गैरभन्सार अवरोधका विषयमा कुराकानी भएको थियो।

विशेषगरी चीनबाट दुर्लभ खनिज (रेयर अर्थ) तथा त्यसबाट उत्पादित वस्तुको आपूर्ति अपेक्षित गति र परिमाणमा हुन नसकेको भन्दै अमेरिकाले असन्तुष्टि जनाएको छ।

यही असन्तुष्टिका कारण बुसान सम्झौताको अवधि छ महिनाका लागि थप्ने सट्टा दुई महिनाका लागि मात्रै विस्तार गरिएको अमेरिकी अधिकारीले बताएका छन्।

ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा दुर्लभ खनिजको आपूर्ति र व्यापारिक अवरोधको विषयलाई प्राथमिकताका साथ उठाउने अपेक्षा गरिएको छ।

परमाणु हतियार, इरान, क्षेत्रीय सुरक्षा र व्यापारिक सम्बन्धजस्ता संवेदनशील विषयमा हुन लागेको यो भेटवार्तालाई अमेरिका, चीन र रुसबीचको आगामी रणनीतिक सम्बन्धका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।