झापा । उपत्यकाबाहित झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा पहिलोपटक ऐतिहासिक कन्काई पावरलिफ्टिङ प्रतियोगिताको तयारी पूरा भएकाे जनाएको छ । न्यू गोल्ड जिम एण्ड जुम्बा सेन्टरको आयोजनामा आगामी मङ्सिर १२ गते शनिबार प्रतियोगिताको तयारी गरेको मंगलबार पत्रकारमाझ जनाएको छ । युवापुस्तामा खेलकुदप्रतिको आकर्षण बढाउँदै शारीरिक शक्ति, अनुशासन र स्वस्थ जीवनशैलीको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको जनाएको छ।
प्रतियोगितामा खेलाडीले स्क्वाट, बेन्च प्रेस र डेडलिफ्ट गरी तीन विधामा आफ्नो क्षमता प्रदर्शन गर्ने छन् । स्क्वाटमा तौलसहित बसेर उठ्नुपर्ने, बेन्च प्रेसमा छातीमाथि राखिएको तौल उठाउनुपर्ने र डेडलिफ्टमा जमिनबाट भारी तौल उठाउनुपर्ने हुन्छ । यी तीनै विधामा खेलाडीले प्राप्त गर्ने अङ्कका आधारमा विजेताको टुङ्गो लगाइने आयोजकले जनाएको छ ।
प्रतियोगितामा पुरुष तथा महिला खेलाडीका विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुनेछन् । च्याम्पियनसिपतर्फ प्रथम हुने खेलाडीलाई ४० हजार, द्वितीयलाई २५ हजार र तृतीयलाई ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। त्यसैगरी, विभिन्न तौल समूहका विजेता तथा उपविजेतालाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको छ ।  खेलकुदका माध्यमबाट युवालाई लागुऔषध दुर्व्यसनबाट टाढा राख्दै सकारात्मक, अनुशासित र स्वस्थ जीवनतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
प्रतियोगिता केवल भारी तौल उठाउने प्रतिस्पर्धा मात्र नभई युवाको सामर्थ्य, आत्मविश्वास र खेलकुदप्रतिको समर्पण उजागर गर्ने अवसरसमेत बन्ने विश्वास गरिएको छ ।