मेचीनगर । नेपाली कम्युनिस्ट पार्टीले सञ्चालन गरिरहेको `राष्ट्रिय जागरण अभियान´अन्तर्गत झापाको मेचीनगरमा पनि अभियानलाई तीव्रता दिएको जनाएको छ । अभियानका उद्देश्य, कार्यक्रम र आगामी कार्यदिशाबारे जानकारी दिन पार्टीले आइतबार मेचीनगरको पार्टी कार्यालयमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा अभियानका मेचीनगर संयोजक एवं पार्टीका केन्द्रीय सदस्य बासु दुलालले पार्टीले `राष्ट्रिय जागरण अभियान´मार्फत जनताको घरदैलोसम्म पुग्ने, सर्वसाधारणका समस्या, गुनासा र अपेक्षा बुझ्ने तथा पार्टीसँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य राखेको जानकारी गराएका थिए । अभियानका क्रममा घरदैलो कार्यक्रमसँगै पार्टी सदस्यताको नवीकरणलाई पनि प्राथमिकतामा राखिएकाले अधिकांश  युवाहरु पार्टीप्रती आकर्षण बढेको प्रमुख दुलालले बताएका थिए ।

त्यसैगरी, आगामी आसन्न निर्वाचनलाई मध्यनजर गर्दै मेचीनगरमा पार्टीको वर्तमान सांगठनिक अवस्था, जनस्तरमा रहेको प्रभाव र निर्वाचनमा पार्टीप्रति सर्वसाधारणको अपेक्षाबारे जानकारी तथा मूल्याङ्कन गर्ने काम भइरहेको बताइएको छ ।

अभियानले पार्टी संगठनलाई तल्लो तहसम्म सक्रिय बनाउनुका साथै जनतासँग प्रत्यक्ष संवाद स्थापित गर्ने लक्ष्य लिएको अभियानका मेचीनगर इन्चार्ज एवं कोशी प्रदेश सदस्य राजु दाहालले जानकारी गराएका थिए ।

घरदैलोका क्रममा प्राप्त हुने सुझाव, प्रतिक्रिया र अपेक्षालाई आगामी राजनीतिक तथा सांगठनिक गतिविधिमा जोड्ने पार्टीको तयारी रहेको सम्मेलनमा जानकारी गराइएको थियो ।

पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले अभियानको प्रभावकारिता, पार्टीको सांगठनिक अवस्था र आगामी निर्वाचनमा अर्को पार्टीसँग गरिने एलाइन्सका बारेमा सहभागी पत्रकारले गरेको जिज्ञासामाथि अभियानका मेचीनगर प्रमुख बासु दुलाल र इन्चार्ज राजु दाहालले सहजीकरण गर्दै जवाफ दिएका थिए ।

पार्टीका मेचीनगर अध्यक्ष खगेन्द्र सिग्देलको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य, अभियानको सहसंयोजक सबिता भेट्वाल, केन्द्रिय सदस्य अभियानका सह सयोजक मिलन राई, केन्द्रिय सदस्य एबम् निर्वाचन क्षेत्र नम्बर १ का संयोजक ज्ञानेन्द्र भण्डारी, मेचीनगर-१४ का इन्चार्ज अपुर्व डाँगी लगायतको सहभागिता रहेको थियो ।