झापा । नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आठवटा समझदारीपत्र सम्झौता भएको छ । भारत भ्रमणका क्रममा दुई देशबीच समझदारी फरेन्सिक विज्ञान तथा अनुसन्धान, प्रहरी तालिम तथा सुरक्षा, निजामती कर्मचारीको क्षमता विकास, आयुर्वेद तथा परम्परागत चिकित्सा, भूउपग्रह सञ्चार सञ्जाल, दिगो सहरी विकास, स्वास्थ्य तथा चिकित्सा र पशुपन्छी तथा मत्स्य विकास क्षेत्रसँग सम्बन्धित छन् ।

त्यस्तै, भारतले नेपाललाई विपद्पछिको पुनर्निर्माण र पूर्वाधार विकासका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । ऊर्जा क्षेत्रमा सहकार्य, हवाई रुट विस्तार, पञ्चेश्वर आयोजना अघि बढाउने तथा रेल र प्रसारण लाइन निर्माणमा समेत सहमति भएको छ ।

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिएका छन् । सोमबार नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् । मोदीले निमन्त्रणा स्वीकार गरेका छन् ।

पत्रकार सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउँदै विकास र समृद्धिको यात्रामा सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले भारतीय लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न स्वागत गर्न नेपाल सरकार तयार रहेको बताए । दुई देशबीच विकासको साझेदारी सुरु भएको उल्लेख गर्दै उनले यसको प्रतिफल किसान, युवा, विद्यार्थी र उद्यमीले प्रत्यक्ष अनुभूति गर्नुपर्ने धारणा राखे ।

पत्रकार सम्मेलनअघि दुवै प्रधानमन्त्रीले अयोध्या–जनकपुर सरयू–कमला एक्सप्रेस रेल सेवाको शुभारम्भ गरेका थिए । भ्रमणका क्रममा ६ वटा आयोजना उद्घाटन तथा शिलान्याससमेत भएका छन् ।