रुपन्देही । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्रका लागि बिचौलियाको काम गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुटवल बेलबासस्थित यातायात व्यवस्था कार्यालयबाट पक्राउ पर्नेहरूमा गुल्मी मालिकाका २३ वर्षीय मनोज अर्याल, रूपन्देही तिलोत्तमाका ४२ वर्षीय हेमप्रसाद भट्टराई, बुटवल बस्ने ४३ वर्षीया लक्ष्मी खनाल र ६२ वर्षीय खोमलाल भुसाल रहेका छन् ।

त्यसैगरी रूपन्देही बुटवल बस्ने ५४ वर्षीय ऋषिराम खनाल, शुद्धोधन बस्ने ३१ वर्षीय विजय क्षेत्री र पाल्पा बगनासकाली बस्ने ५३ का प्रेमध्वज श्रेष्ठलाई पक्राउ गरिएको रूपन्देही प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । उनका अनुसार सेवाग्राहीसँग साँठगाँठ र बिचौलियाको काम गरेर कमिसन खानेहरूलाई पक्राउ गरिएको हो। उनीहरूलाई कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको चन्दले बताए ।