झापा । सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन तथा ग्रिनफिल्ड टर्मिनल परियोजनाको आज औपचारिक शिलान्यास हुँदैछ।

नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ ।

झापाको मेचीनगर नगरपालिका–१३ स्थित नेपाल आयल निगमको परियोजना स्थलमा बिहान शिलान्यास कार्यक्रम आयोजना गरिएको परियोजना प्रमुखले जनाएको छ । कार्यक्रममा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमबाट संयुक्त रूपमा परियोजनाको शिलान्यास गर्ने कार्यक्रम छ।

शिलान्यास समारोहमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रितेशकुमार शाक्य प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साह, इन्डियन आयल कर्पोरेसनका कन्ट्री म्यानेजर निरुपम रायजादा तथा भारतीय दूतावासका प्रतिनिधि निशा र कुमुदा पोखरेलको उपस्थिति रहने जनाइएको छ।

त्यस्तै, झापाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू पनि कार्यक्रममा सहभागी हुनेछन् ।

नेपाल र भारतबीचको ऊर्जा तथा पेट्रोलियम आपूर्ति सहकार्यलाई थप विस्तार गर्ने उद्देश्यले अघि बढाइएको यस परियोजनाको शिलान्याससँगै सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन र ग्रिनफिल्ड टर्मिनल निर्माणको प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ।