झापा । २६ वर्षअघि ऋण लिँदा दृष्टिबन्धक राखेको जग्गामध्ये ८ कठ्ठा जमिन गुमाएका झापाको कनकाई नगरपालिका–६ का विष्णुप्रसाद राजवंशीले अन्ततः आफ्नो जग्गा फिर्ता पाउन सफल भएका छन् । लामो समयदेखि गुमेको जग्गा फिर्ता भएपछि खुसी व्यक्त गर्दै राजवंशी दुर्गा प्रसाईं नेतृत्वको नेपाल पथ पार्टीमा प्रवेश गरेका छन्।
राजवंशीका अनुसार उनले २०५६/०५७ सालतिर एक बिघाभन्दा बढी जग्गा दृष्टिबन्धक राखेर डेढ लाख रुपैयाँ ऋण लिएका थिए। तर, ऋणको साँवा र ब्याजको विषयलाई लिएर विवाद भएपछि साहु पक्षले ब्याजसमेत जोडेर उनको ८ कठ्ठा जग्गा भोगचलन गर्दै आएको उनको भनाइ छ।
आफ्नो जग्गा फिर्ता गराउन उनले विभिन्न राजनीतिक दल तथा नेताहरूसँग पटक–पटक आग्रह गरे पनि समस्या समाधान हुन नसकेको बताएका छन्। माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीसम्म आफ्नो समस्या पुर्याउँदा पनि न्याय पाउन नसकेको उनको गुनासो छ।
अन्ततः उनले दुर्गा प्रसाईं नेतृत्वको नेपाल पथ पार्टीलाई आफ्नो समस्याबारे जानकारी गराएका थिए। त्यसपछि पार्टीले घटनाको वास्तविकता बुझ्दै आर्थिक तथा वित्तीय विभाग प्रमुख देवी संग्रौलाको नेतृत्वमा पहल गरेको थियो । सोही पहलपछि लामो समयदेखि विवादमा रहेको जग्गा फिर्ता गराउन सफल भएको राजवंशीले बताएका छन्।
हाल उक्त क्षेत्रको जग्गा प्रतिकठ्ठा करिब ४ लाख रुपैयाँमा किनबेच हुन सक्ने राजवंशीको भनाइ छ । यस हिसाबले फिर्ता भएको ८ कठ्ठा जग्गाको अनुमानित बजार मूल्य ३२ लाख रुपैयाँ हुन्छ । उक्त जमिन आगामी चैत महिनाभित्र फिर्ता गर्ने सहमति वडा कार्यालयमा भएको बताइएको छ ।





