काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकारको संरक्षणको माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
महासंघले २०८३ मंसिर १ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति अनुदार व्यवहार देखाएको भन्दै आन्दोलनमा उत्रिनुपरेको जनाएको हो ।
समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको महासंघको आरोप छ ।
त्यस्तै, सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेस्र्याउनेमाथि हालसम्म कारबाही नभएको, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको र श्रम अधिकार उल्लंघन भइरहेको महासंघले जनाएको छ ।





