काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सही समय आएपछि, सबैको गलत समय आउने बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल एक्समा लेख्दै प्रधानमन्त्री शाहले 'सही समय आएपछि सबैको गलत समय आउँछ, एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ' भनेका छन् । उनले कसलाई लक्षित गरेर यस्तो अभिव्यक्ति दिएका हुन् भन्नेबारे भने खुलाएका छैनन् ।
सर्वोच्च अदालतका न्यायाधीश र बिचौलिया संवाद सार्वजनिक भएपछि रास्वपाको शनिबारको सचिवालय बैठकले न्यायालयको विकृति अन्त्यका लागि भन्दै संसद्बाटै निर्णायक कदम चाल्न र यसलाई तार्किक निष्कर्षमा पुर्याउन संसदीय दललाई निर्देशन दिएको थियो । पत्रकार पक्राउ प्रकरणमा पनि बैठकले गैरजिम्मेवार आदेश दिने व्यक्तिहरुलाई अविलम्ब पहिचान र छानबिन गरी कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको थियो।
विवादित न्यायाधीशहरुलाई महाभियोग लगाउने विषयमा पार्टीले राजनीतिक र कानुनी परामर्श थालेका बेला रास्वपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री शाहको यस्तो स्टाटस आएको हो। सही समय आएपछी, सबैको गलत समय आउछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !





