चारआली । झापाको चारआलीमा आगामी कात्तिक २१ गते चर्चित नेपाली सांगीतिक ब्याण्ड नेपथ्यको भव्य लाइभ कन्सर्ट आयोजना हुने भएको छ । चारआली जेसीस र बज्र स्पोर्ट्सको संयुक्त आयोजनामा मेचीनगरस्थित हातेमालो सामुदायिक वनको खेल मैदानमा कन्सर्ट हुन लागेको हो ।

चारआलीलाई सांगीतिक पहिचान दिलाउँदै यस क्षेत्रलाई संगीत र सांस्कृतिक गतिविधिको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । कन्सर्टमा नेपालका विभिन्न स्थानसँगै छिमेकी भारतबाट समेत ठूलो संख्यामा दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।

चारआली जेसीसका अध्यक्ष सञ्जय निरौलाका अनुसार नेपथ्यजस्तो स्थापित र लोकप्रिय ब्याण्डको प्रस्तुति चारआलीमा आयोजना हुनु यस क्षेत्रकै गौरवको विषय हो । उनले धरानदेखि श्रीअन्तुसम्म १५५ वटा बुलेट र्‍याली सफलतापूर्वक सम्पन्न गरिसकेको जानकारी दिँदै कन्सर्टलाई भव्य र व्यवस्थित बनाउन तीव्र तयारी भइरहेको बताए । बज्र इभेन्टका सञ्चालक फुर्वा लामाका अनुसार कन्सर्टका लागि हालसम्म ४ हजार ७ सय टिकट बिक्री भइसकेका छन् । आयोजकले १० हजारभन्दा बढी दर्शक उपस्थित हुने लक्ष्य राखेको छ। भारतबाट मात्रै ५ सयदेखि ७ सयसम्म दर्शक आउने अनुमान गरिएको उनले बताए ।

कन्सर्ट आयोजनाका लागि करिब एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको लामाले जानकारी दिए। उनका अनुसार टिकट नेपथ्य ब्याण्डले नै उपलब्ध गराएको हो। आयोजकले छुट्टै टिकट छपाइ नगरी ब्याण्डबाट प्राप्त आधिकारिक टिकट बिक्री गरिरहेको छ ।

चारआली जेसीसका पूर्वअध्यक्ष उत्तम प्याकुरेलले चारआलीलाई सांगीतिक पहिचान दिलाउने र यस क्षेत्रलाई राष्ट्रियस्तरको सांगीतिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको बताए ।

नेपथ्यका लोकप्रिय गीत र जीवन्त प्रस्तुतिले झापा, इलाम, मोरङसहित पूर्वी नेपालका संगीतप्रेमीलाई एउटै मञ्चमा जोड्ने विश्वास आयोजकको छ। कन्सर्टले स्थानीय पर्यटन, होटल व्यवसाय, यातायात, व्यापार तथा सांस्कृतिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

चारआलीमा पहिलोपटक आयोजना हुन लागेको यो स्तरको सांगीतिक कार्यक्रमले स्थानीय क्षेत्रको पहिचान राष्ट्रियस्तरमा स्थापित गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।