काँकडभिट्टा । भारतबाट नेपालतर्फ आउँदै गरेका चारजना भारतीय बहुमूल्य धातुसहित पूर्वी नाकाको मेची पुलमा पक्राउ परेका छन् । हिजो दिउँसो १२ बजेतिर नयाँ मेची पुलमा सीमा सुरक्षा बल (एसएसबी) को नियमित चेकजाँचको क्रममा उनीहरु पक्राउ परेका हुन् । उनीहरूबाट सुनचाँदीका सामग्री बरामद गरिएको छ।
एसएसबीले भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लुबी ७४ बीयु १२७४ नं को मारुती सुजुकी एर्टिगालाई रोकेर चेकजाँच गरेको थियो । त्यस क्रममा यात्रुमध्येका ४७ वर्षीय धनजित पटगिरीसंग बहुमूल्य धातु र सिक्का रहेको झोला फेला परेको थियो। बरामद गरिएका वस्तुहरूमा करिब १०० ग्राम तौल भएको एक चाँदीको सिक्का, करिब १० ग्राम तौल भएका चारवटा सुनको बार र तीनवटा सुनको सिक्का रहेका छन् ।





