विर्तामोड  । प्रतिबन्धित नेटवर्किङ व्यवसाय सञ्चालन गरी सर्वसाधारणलाई ठग्दै आएको आरोप लागेको एन के नेपाल टेड सप्लायर्स प्रालि कम्पनीले चिठ्ठा (लक्की ड्र) कार्यक्रममा व्यापक धाँधली गर्दा आफूहरु पीडित  भएको भन्दै सर्वसाधारणले इलाका प्रहरी कार्यालय विर्तामोडमा उजुरी हालेका छन् । कम्पनीले नियमित प्रक्रियाभन्दा फरक ढंगले चिठ्ठा खेलाएपछि आक्रोशित बनेका सर्वसाधारणले न्याय र कम्पनीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय विर्तामोडमा सामूहिक निवेदन (उजुरी) दर्ता गराएका हुन्।
उक्त कम्पनीले चिठ्ठाको प्रलोभन देखाएर ९ हजार ९ सय ९९ जना सर्वसाधारणबाट प्रतिव्यक्ति मासिक १३ रुपैयाँका दरले २८ महिनासम्म संकलन गर्दै आएको छ । कम्पनीले मोटो रकम असुल गरेपनि चिठ्ठा खेलाउँदा धाँधली गराएर आफुहरु पीडित बनेकाले न्यायका लागि प्रहरीकहाँ उजुरी गरेको उनीहरुको भनाई छ । कम्पनीले आयोजना गरेको चिठ्ठा कार्यक्रममा नियम विपरीत धाँधली गरिएको उनीहरूको आरोप छ। पीडितहरूका अनुसार चिठ्ठा प्रक्रियामा शृङ्खलाबद्ध रूपमा गोलाप्रथा (ड्र) गरिनुपर्ने सामान्य नियमलाई समेत मिचिएको थियो । एउटा चिठ्ठा खुलाइसकेपछि क्रमशः दोस्रो नम्बरको खुलाउनु पर्नेमा, दोस्रोलाई पूर्ण रूपमा बाइपास गरेर सिधै तेस्रो नम्बरको चिठ्ठा खेलाइएको थियो । कम्पनीको यस्तो शङ्कास्पद र अपारदर्शी कार्यशैलीकै कारण आफूहरू चिठ्ठा पाउनबाट बञ्चित भएको र ठगिएको गुनासो उनीहरूले गरेका छन्। आफुहरुलाई चिठ्ठा खेलाउँदा धाँधली भएपछि आफुहरुले बुझाएको किस्ता रकमको व्याजसहित फिर्ता दिनुपर्ने उनीहरुको माग रहेको छ ।
एनके कम्पनी लगायत झापाको विर्तामोडमा एनके, ब्राभो, साक्षी, युटर्न लगायत आधा दर्जन नेटवकिङ कम्पनीले चिठ्ठा प्रलोभन देखाएर सर्वसाधारणबाट करोडौं रुपैयाँ संकलन गर्दै आएको छ । त्यसको नियमन तथा निगारानी गर्ने निकाय नेपाल र स्थानीय सरकार बेखवर छन् । प्रहरीका अनुसार उक्त कम्पनी कसरी सञ्चालनमा आएका छन् भन्ने अनुसन्धानबाट पुष्टी हुनेछ । सदस्यहरुले चिठ्ठाको प्रलोभन देखाउदै कम्पनीले मासिक रुपमा लिइँदै आएको किस्ता नै अवैध तथा प्रतिबन्धित खेल हो । तर, कम्पनीले नियमनकारी निकायलाई माल सामान विक्री गर्दा प्रोत्साहन स्वरुप चिठ्ठा उडाइएको बताउँदै आएको छ । 

यसैबीच इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी विजय पाठकले पीडित सर्वसाधारणका तर्फबाट निवेदन प्राप्त भएको पुष्टि गरेका छन् । डिएसपी पाठकका अनुसार सर्वसाधारणको गुनासो र निवेदनका आधारमा प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएको र उक्त कम्पनीको कानुनी हैसियत तथा चिठ्ठा प्रक्रियामा भएको भनिएको धाँधलीबारे तत्कालै विस्तृत अनुसन्धान अघि बढाइने जानकारी दिए ।