मेचीनगर । विगत ढेड वर्षअघि रहस्यमय रूपमा बेपत्ता भएका काठमाण्डौका दिलनाथ बजगाईँको हत्या गरी गाडिएको अवस्थामा मेचीनगर–६, दक्षिण गैरीगाउँमा शवको कंकाल फेला परेको छ । ललितपुरको महाङ्काल गाउँपालिका–२ स्थायी घर भई काठमाडौँमा घरजग्गा व्यवसाय गर्दै आएका ४० वर्षीय दिलनाथ बजगाईँ गत २०८१ कार्तिक २९ गते झापाको काँकरभिट्टामा हत्या भएको थियो ।
विशेष सूचनाका आधारमा  गैरीगाउँको एक सुगुर फर्मछेउमा गाडिएको अवस्थामा प्रहरीले जेसीभि प्रयोग गरेर कंकाल निकालेको थियो । कंकाल अनुसन्धानका लागि लगिएको प्रहरीले जनाएको  छ । 
घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा काँकरभिट्टाका स्थानीय सिंह बहादुर ९राम भनिने० र हाल इटाभट्टा क्षेत्रमा बस्दै आएका भारतीय नागरिक सञ्जय लामा रहेका छन्। उनीहरूले नै बजगाईँको हत्या गरी एकान्त स्थानमा शव गाडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 
घरजग्गा कारोबारको सिलसिलामा झापा आएका बजगाईँ काँकरभिट्टास्थित न्यू हिकोला हेरिटेज होटलमा बसेका थिए। त्यसपछि अचानक सम्पर्कविहीन भएपछि परिवारले इलाका प्रहरी कार्यालय काँकरभिट्टामा खोजीका लागि निवेदन दिएका थिए।अनुसन्धानका क्रममा बर्मेलीटोलस्थित बाहुण्डाँगी रोडमा मृतक बजगाईँको पर्स र सवारी चालक अनुमति पत्र ९लाइसेन्स० फेला परेपछि प्रहरीले शङ्कास्पद व्यक्तिहरूमाथि निगरानी बढाएको थियो। सोही आधारमा पक्राउ परेका आरोपीहरूको बयान र बुझबुझारथका क्रममा उनीहरूले शव गाडेको ठाउँ देखाएपछि प्रहरीले कंकाल उत्खनन गरेको हो ।