झापा  । `भारतको कोलकाता-नेपालको विराटनगर´ कार्गो रेल सेवा सुरु भएको छ । नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामानलाई भारतीय भूमि हुँदै नेपालको सिमानासम्म ढुवानी गर्ने प्रक्रियाअन्तर्गत `कोलकाता–विराटनगर´ कार्गो रेल सेवा शुक्रबारबाट सुरु भएको हो ।

नेपाल–भारत पारवहन सम्झौताले तेस्रो मुलुकबाट हुने आयात तथा निर्यातको लागि भारतीय सडक मार्ग, रेल मार्ग र जल मार्गको प्रयोग गरी पारवहन गर्न पाउने व्यवस्था गरेको छ ।

सोहीबमोजिम भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्ड (सीबीआईसी)ले ४ नोभेम्बर २०२५ मा जारी गरेको नोटिफिकेसन नम्बर ७३र२०२५ मार्फत इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टम (ईसीटीएस) नियमावली, २०१९ मा संशोधन गर्दै भारतका कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट नेपालका लागि रेलमार्फत हुने कार्गो ढुवानीको दायरा विस्तार गरी विराटनगर भन्सारसम्म रेल कार्गो लैजान पाउने व्यवस्था गरेको थियो ।

उक्त निर्णय कार्यान्वयन गराउन कोतकातास्थित महावाणिज्यदूतावासको निरन्तरको पहलपश्चात कोलकाता भन्सारले २६ फेब्रुअरी २०२६ मा कोलकाता र हल्दियाबाट वीरगन्जका अतिरिक्त जोगबनीस्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगरस्थित नेपाल भन्सार यार्डसम्म रेलबाट मालसामान ढुवानी गर्ने प्रक्रियागत व्यवस्था मिलाएको थियो ।

यसको कार्यान्वयनका लागि महावाणिज्यदूतावासले कोलकाता भन्सार, बन्दरगाह, सिपिङलाइनसँग समन्वय गरी शुक्रबार साउन १ गते कोलकाता बन्दरगाहदेखि विराटनगरका लागि पहिलोपटक औपचारिक रूपमा रेल कार्गो सेवाको शुभारम्भ भएको हो ।

यस अवसरमा कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट र भारतीय कन्टेनर निगम लिमिटेडका अधिकारीहरुले संयुक्तरुपमा हरियो झण्डा देखाई यस रेल कार्गोको शुभारम्भ गरेका थिए ।

भारतीय कन्टेनर निगम लिमिटेड (कोनकर) को रेल र्‍याकमार्फत प्रस्थान गरेको यस पहिलो ढुवानीमा नेपालको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ राखिएका ४० वटा ४० फिटका उच्च क्षमताका कन्टेनरहरू रहेका छन् ।

यी कन्टेनरहरुमा ईसीटीएस समेत जडान गरिएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्र जोगबनी एकिकृत भन्सार यार्ड हुँदै विराटनगर आइपुग्ने यो रेल सेवा पूर्ण रूपमा सञ्चालनमा आएसँगै अब एकै पटकमा ४५ वटासम्म ४० फिटका कार्गो कन्टेनरहरू रेलमार्फत सिधै विराटनगर पठाउन सकिने भएको छ ।

“सडक मार्गको तुलनामा रेल कार्गो सुरक्षित, भरपर्दो, न्यनू लागत हुने र करिव २४ घन्टाको समय अवधिमा विराटनगर पुग्ने भएकाले सवै प्रकारका वस्तु आयातमा सहज हुनेछ,” कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विगतमा वीरगञ्जमा मात्र यस्तो रेल कार्गो सुविधा उपलब्ध भएकोमा अब विराटनगरमा समेत रेल कार्गोमार्फत कन्टेनर र बल्क कार्गो नियमित रूपमा व्यावसायिक ढुवानी गर्ने बाटो खुला भएको छ ।

यस व्यवस्थाबाट बन्दरगाहमा नेपाली आयातकर्ताले बेहोर्नुपर्ने बिलम्ब शुल्क, कन्टेनर डिटेन्सन चार्ज र सडक ढुवानीको अतिरिक्त भार कम भई समग्र व्यापार पारवहन लागत समेत उल्लेखनीय रूपमा न्यूनीकरण हुने, व्यापार सहजीकरणमा मद्दत पुग्ने र नेपाली उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता बलियो हुने विश्वास लिइएको छ ।