झापा । जिल्ला प्रहरी कार्यालय झापाले भद्रपुर नगरपालिका–३ शान्तेचोकस्थित एक घरबाट करिब ६ करोड रुपैयाँ बराबरको अवैध खबुजाको बिउ बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार २०८३ साउन २९ गते साँझ करिब ६ बजे प्राप्त गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक बृजुन्द्र खड्काको कमाण्डमा खटिएको ५५ सदस्यीय टोलीले भिमलाल सुवेदीको घरमा कानुनी प्रक्रिया पूरा गरी खानतलासी गरेको थियो।
खानतलासीका क्रममा घरका दुईवटा कोठाबाट प्रति बोरा ४० केजीका १,४८८ बोरा, अर्थात् कुल ५९ हजार ५२० किलोग्राम खबुजाको बिउ बरामद गरिएको प्रहरीले जनाएको छ।
यदि उक्त बिउको प्रति किलोग्राम मूल्य रु. १,००० का दरले हिसाब गर्ने हो भने बरामद बिउको अनुमानित बजार मूल्य रु. ५ करोड ९५ लाख २० हजार पुग्ने देखिन्छ।
बरामद गरिएको बिउ आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय, झापा बुझाउने तयारी गरिएको प्रहरीले जनाएको छ। साथै उक्त बिउको स्रोत, तस्करीमा संलग्न व्यक्ति तथा सम्भावित सञ्जालबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।



















































