काठमाडौं । केयरगिभर रोजगारीका लागि इजरायल जाने करिब एक हजार २०० नेपाली कामदारको छनोट प्रक्रिया चलिरहेका बेला नेपाल र इजरायलबीच घरायसी केयरगिभर (होम–बेस्ड केयरगिभर) पठाउने नयाँ प्रोटोकललाई अन्तिम रूप दिने तयारी भइरहेको छ । गत वर्षको माघदेखि यस विषयमा दुई देशबीच पत्राचार र प्राविधिक छलफल हुँदै आएको हो । अहिले भने प्रोटोकललाई टुंगोमा पुर्‍याउने गरी वार्ता अघि बढाइएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार विगतमा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि क्षेत्र र वृद्धवृद्धा तथा अशक्तको स्याहारका लागि घरेलु केयरगिभर पठाउने विषयमा छलफल भए पनि अहिले प्राथमिकता घरायसी केयरगिभरमा केन्द्रित गरिएको छ । उनका अनुसार प्रोटोकलका विषयमा छलफल अन्तिम चरणमा पुगेको छ । छिट्टै निर्णय हुने अपेक्षा गरिएको छ । प्रोटोकलमा सहमति भएपछि आवश्यक तयारी पूरा गरी नेपाली युवाले घरायसी केयरगिभरका रूपमा इजरायल जाने नयाँ अवसर पाउनेछन् । हाल जीटुजी प्रणालीमार्फत इजरायलका संस्थागत केयर सेन्टर (बेत आवोट) मा नेपाली कामदार कार्यरत छन् । केही समयअघि वैदेशिक रोजगार विभागले आवेदन आह्वान गरी दुुई हजार ३०० आवेदकमध्ये भाषा परीक्षा सञ्चालन गरेको थियो । तीमध्ये करिब एक हजार २०० जना छनोट हुने अनुमान गरिएको छ । विभागले छनोट भएका कामदारको नाम इजरायल पठाउने तयारी गरिरहेको छ ।

एक वर्षअघि मन्त्रिपरिषद्ले कृषि तथा घरायसी केयरगिभर पठाउने दुई नयाँ प्रोटोकल स्वीकृत गर्दै ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि क्षेत्र र वृद्धवृद्धा तथा अशक्तको स्याहारका लागि पाँच वर्षसम्मको रोजगारीमा पठाउने योजना पारित गरेको थियो । तर त्यसपछि प्रक्रिया अघि बढ्न सकेको थिएन । त्यसै क्रममा नेपालले कृषि र घरेलु केयरगिभरका लागि श्रम सम्झौताको मस्यौदा इजरायल पठाएको थियो ।

इजरायलले प्रस्तावलाई सकारात्मक रूपमा स्वीकार गर्दै थप छलफलका लागि पत्राचार गरेको थियो । सामान्यतया श्रम सम्झौताअघि दुवै पक्षका प्राविधिक समितिबीच विभिन्न विषयमा छलफल गरी अन्तिम सहमति गरिने प्रचलन छ । हाल इजरायलका संस्थागत केयर सेन्टरमा बालबालिका तथा वृद्धवृद्धाको स्याहारका लागि नेपाली कामदार जीटुजीमार्फत गइरहेका छन् । अब घरेलु केयरगिभर पठाउने विषय पनि अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।

कति संख्यामा कामदार पठाइने भन्ने विषय सम्झौतापछि आउने मागका आधारमा तय हुनेछ । यसैगरी दक्षिण कोरियाका संस्थागत केयर सेन्टरमा पनि नेपाली कामदार पठाइँदै आएको छ । आगामी दिनमा त्यहाँ पनि घरेलु केयरगिभर पठाउने योजना अघि बढाइएको मन्त्रालयको भनाइ छ । हाल इजरायलमा जीटुजी, संस्थागत तथा व्यक्तिगत माध्यमबाट नेपाली श्रमिक कार्यरत छन् । त्यहाँ ६ हजार ५०० भन्दा बढी नेपाली श्रमिक रहेको मन्त्रालयको तथ्यांक छ ।

बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत एरी बासबीच मन्त्रालयमा भएको भेटवार्तामा इजरायलका लागि छनोट भएका नेपाली श्रमिकले भोगिरहेका समस्या, स्वास्थ्य परीक्षण, भाषा परीक्षा तथा आगामी भर्ना प्रक्रियाबारे छलफल भएको थियो । इजरायली पक्षले हाल छनोट प्रक्रियामा रहेका कामदारलाई पठाइसकेपछि मात्रै नयाँ आवेदन प्रक्रिया अघि बढाउने जनाएको छ ।

आकर्षक आम्दानीका कारण इजरायल नेपाली श्रमिकका लागि महत्त्वपूर्ण श्रम गन्तव्य बन्दै गएको छ । पछिल्लो समय त्यहाँ जाने नेपाली श्रमिकको संख्या बढेसँगै रेमिटेन्समा पनि वृद्धि भएको छ । इजरायलले थप नेपाली श्रमिक लिन सकारात्मक संकेत दिएपछि नेपाल सरकारले अन्य क्षेत्रमा समेत रोजगारी विस्तारका लागि गृहकार्य अघि बढाएको छ ।