बिर्तामोड । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिले झापाको बिर्तामोडमा पत्रकारितामा प्रविधिको प्रयोग बिषयक एक दिवसीय तालिम सम्पन्न भएको छ ।
प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा त्यसको प्रयोगबाट अघि बड्न प्रेरित गर्ने उद्देश्य कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष पुष्प खड्काले जानकारी दिए । ‘प्रविधि हामीभन्दा धेरै अगाडी गइसक्यो,’ उनले भने, ‘प्रविधि पछ्याउन नसक्दा पत्रकारिता पेशाबाट पलायन हुन नपरोस् भन्ने उद्धेश्यले तालिम आयोजना गरिएको हो ।’ कृतिम बुद्धिमताले पत्रकारितामा समेत धेरै सहज बनाउँदै लगेको र सो बारे स्थानीय पत्रकारहरुलाई जानकारी दिने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।
कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पत्रकारले खोजमुलक र सत्यतथ्य समाचार लेख्न आग्रह गरेका थिए । नराम्रा टिकाटिप्पणी र भ्युज बढाउने भन्दापनि मुलधारका मिडियाले सत्यतथ्यमा आधारित रहेर सकारात्मक समाचार लेख्नु पर्ने उनको भनाई थियो । कार्यक्रमका बिशिष्ट अतिथि नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले पत्रकारले प्रविधिको सहयोग बिना पेशालाई समयसापेक्ष बनाउन नसक्ने अवस्था आएकाले सबै पत्रकारहरुले आफुलाई प्रविधिलाई प्रयोग गर्दै लैजानुपर्ने बताए । उनले पत्रकारितामा संकट सिर्जना भएकाले कर्म गर्दा आचारसंहिता नभुल्नसमेत उनले आग्रह गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश सदस्य राजकुमार ओली, प्रेस चौतारी नेपाल झापा अध्यक्ष प्रदिप परियार, नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्य, पर्यटन पत्रकार मञ्च झापाका अध्यक्ष कमलप्रसाद पाण्डे (विनोद) लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
एआईको प्रयोगले पत्रकारिता पेशालाई कसरी सहज र सरल बनाउँछ भन्ने बारेमा प्रशिक्षक उमाकान्त खनालले सहभागीहरुलाई जानकारी गराएका थिए । उनले पत्रकारितामा एआईको सहयोग लिइएपनि अन्तिम सम्पादक मानव नै हुनुपर्ने बताए । सहभागीहरुलाई प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव दिपिन राईले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा ५० जना बढीको सहभागिता रहेको थियो । पुष्प खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष होमप्रकाश अधिकारीले स्वागत र सहसचिव राजन साम्पाङले सञ्चालन गरेका थिए ।




















































