झापा । भारतको पानीट्याङ्कीबाट मेची खोलाको बाटो प्रयोग गरी अवैध रूपमा नेपाल प्रवेश गर्न खोज्ने एक बंगलादेशी नागरिकलाई झापाको काँकरभिट्टा प्रहरीले पक्राउ गरेको छ । शुक्रबार अपरन्ह दिउँसो मेचीनगर नगरपालिका–६ गैरीगाउँस्थित सीमा क्षेत्रबाट नेपाल प्रवेश गरिरहेका ३३ वर्षीय बंगलादेशी नागरिक मोहम्मद सैफुल इस्लामलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनी वैधानिक प्रवेश नाकालाई छलेर मेची खोलाको बाटो हुँदै नेपाल छिर्न खोजिरहेका थिए। पक्राउ परेका इस्लाम बंगलादेशको चाँदपुर जिल्लास्थित तुलाटोली कचुवा मोनोहरपुरका बासिन्दा हुन्।
सीमा सुरक्षा चुनौतीका बीच विदेशी नागरिक अवैध रूपमा नेपाल प्रवेश गर्न खोजेको घटना सार्वजनिक भएपछि सीमा क्षेत्रमा सुरक्षाकर्मीको निगरानी थप कडा बनाइएको छ। पक्राउ परेका इस्लाममाथि आवश्यक अनुसन्धान सम्पन्न गरी थप कारबाहीका लागि अध्यागमन विभाग, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। खुला सीमाको दुरुपयोग गर्दै हुने अवैध आवतजावत नियन्त्रण प्रहरीका लागि चुनौतीपूर्ण बन्दै गएको बेला बंगलादेशी नागरिक पक्राउ पर्नुले सीमा सुरक्षाको संवेदनशीलता फेरि एकपटक उजागर गरेको छ।




















































