झापा । इजरायल रोजगारीका लागि आवेदन दिन `क्याम्ब्रिज अपस्किल्स इङ्लिस टेस्ट´ परीक्षा सञ्चालनमा त्रुटि भएको भन्दै सयौं विद्यार्थी आन्दोलित बनेका छन् । मोबाइल डिजिटल प्रणालीको माध्यमबाट लिइएको परीक्षामा इन्टरनेट लगायतको समस्याले विद्यार्थी अनुत्तीर्ण भएपछि आन्दोलन गर्नुपरेको परीक्षामा सहभागी विद्यार्थीले बताएका छन् ।
`इन्टरनेट-स्लो´ को समस्याबारे विद्यार्थीले पटकपटक व्यवस्थापनलाई जानकारी गराएका थिए । परीक्षार्थीले परीक्षा दिने क्रममा `इन्टरनेट-स्लो´ लगायत अन्य ब्यवस्थापनको कमजोरीका कारण `रिडिङ, स्पिकिङ´मा अधिकांश विद्यार्थी अनुतिर्ण भएको सहभागी विद्यार्थीको भनाई छ । श्रम मन्त्रालयले अंग्रेजी भाषा परिक्षणका लागि त्रिपुरेश्वरस्थित `सिआइआइएन इन्टरनेशनल क्वालिफिकेसन्स´लाई जिम्मा दिएको छ । उक्त संस्थाले भाषा परीक्षाको उचित व्यवस्थापन नगरी विद्यार्थीबाट रकम असुल्न मात्रै खोजेको विद्यार्थीको आरोप छ । व्यवस्थापन नहुँदा एकै हलमा २ सय जनालाई परीक्षामा सामेल गराउँदा विद्यार्थीले सास्ती बेहोर्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । आफ्नै मोबाइलबाट दिनुपर्ने परिक्षाको लागि अग्रिम लिइएको प्रतिब्यक्ती पाँच हजार रकम अनाधिकृत रुपमा अशुलेको विद्यार्थीको भनाई छ । जसका लागि छानबिनको माग समेत गरेका छन् ।
यसैबीच विद्यार्थीको व्यापक गुनासो र ब्यवस्थापनको आलोचना भएपछि सिआईआईएनले परीक्षा अनिश्चितकालका लागि स्थगित भएको जनाएको छ । यसअघि पूर्वश्रममन्त्री शरदसिंघ भण्डारीले खाडी जान समेत भाषा परीक्षा दिन अनिवार्य गर्ने गरी कार्यविधि ल्याएका थिए । तात्कालिन समयमा उनले क्याम्ब्रिज अपस्किल्स इंग्लिस टेस्टलाईनै लागू गर्ने योजना ल्याएको भन्दै सरोकारवालाहरुले बिरोध गरेका थिए ।




















































