झापा । पेट्रोलियमलगायत निर्माण सामग्री, ढुवानीमा भएको चरम मूल्यबृद्धिका कारण वर्तमान अवस्थामा काम गर्न नसकिने जनाउदै झापाका निर्माण व्यवसायीहरुले सरकारी विकास-निर्माणका काम ठप्प पारेका छन् । सोमबार निर्माण व्यवसायी संघ झापाको नेतृत्वमा निर्माण व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय झापालगायत सरोकारवाला निकायहरुलाई ज्ञापनपत्र बुझाउँदै पेट्रोलियमलगायत निर्माण सामग्री, ढुवानी एवम् श्रमिक लागतमा भएको चरम मूल्यबृद्धिका कारण वर्तमान अवस्थामा काम गर्न नसकिने जनाएका हुन् ।
मध्यपूर्वमा भइरहेको द्वन्द्वका कारण नेपालमा पेट्रोलिक पदार्थमा भएको अत्यधिक मूल्यबृद्धिसँगै सबैखाले निर्माण सामग्रीमा पनि उच्च मूल्यबृद्धि हुँदा सरकारका विभिन्न निकासहरुसँग गरिएको साविकको सम्झौताअनुसार कुनै हालतमा काम गर्न नसकिने बचाउँदै निर्माण व्यवसायी संघ झापाका अध्यक्ष रमेश अधिकारीले सो सम्बन्धमा संघीय तथा प्रदेश सरकारका सबै निकायमा ज्ञापनपत्र बुझाइए पनि त्यसको सुनवाई नभएकोले नेपाल निर्माण व्यवसायी महासंघले तय गरेको आन्दोलनको कार्यक्रमअनुसार आज जिल्लास्थित सरोकारवाला निकायहरुलाई ज्ञापनपत्र बुझाउँदै आजदेखि नै काम ठप्प पारिएको जानकारी दिएका छन् । अध्यक्ष अधिकारीकै नेतृत्वमा प्रथम उपाध्यक्ष केदार गिरी, तृतीय उपाध्यक्ष नयन बराल, महासचिव पुष्पराज निरौला, सचिव लोकेन्द्र श्रेष्ठ, कोषाध्यक्ष यज्ञनिधि भुर्तेल, सह कोषाध्यक्ष सुरेन्द्र धिमाल, अग्रज निर्माण व्यवसायी भीमचन्द्र भट्टराई, ओम पौडेल, शम्भु कार्कीलगायत उल्लेख्य संख्यामा रहेका निर्माण व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय झापामा सहायक प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेलाई ज्ञापनपत्र बुझाएका थिए ।





















































