मेचीनगर झापाको मेचीनगर नगरपालिकाले सोमबारदेखि बजारमै पुगेर व्यवसाय दर्ता अभियान सुरू गरेको छ । सोमबार मेचीनगर ६, काँकरभिट्टास्थित सब्जी बजारमा नगरपालिकाले उक्त अभियानको सुरू गरेको हो । 
मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मिना उप्रेतीले स्थानीय सरकारमा व्यवसाय दर्ता गरेर सर्वसाधारण व्यवसायीलाई व्यवसाय सुरक्षित गर्न बजार अभियान सुरु गरेका थिए । ‘व्यवसाय दर्ता गरेर राज्यलाई कर तिर्नु आफ्नो व्यवसाय सुरक्षित राख्नु व्यवसायी र स्थानीय सरकारको दायित्व भएकाले अभियान सुरु गरेका नगरप्रमुख बुढाथोकीले बताए । दर्ता प्रक्रिया पूरा नगरी व्यवसाय गर्न पाइदैन, कानुनले त्यसो गर्न दिँदैन । त्यसैले यदी व्यवसाय दर्ता नभएको भए दर्ता गर्न सबै व्यवसायीलाई उनले आग्रह गरेका थिए ।
अभियान काँकरभिट्टाको वडा कार्यालय छेउ सब्जी बजारबाट सुरू गरिएको छ । सबैतिर सँगसँगै अभियान सञ्चालन हुनेछ । करिव १५ दिन सेवाग्राहीको सहजताका लागि काँकरभिट्टाको ज्येष्ठ नागरिकको भवन, होटल व्यवसायीको भवन र पूर्व मेची बस व्यवसायी प्रालिको हलमा सेवा प्रवाह गरिने बताइएको छ ।
अभियानको सूरुवात राजश्व परामर्श समिति संयोजक समेत रहेकी उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा सम्पन्न अभियानमा उप्रेतीले राजश्व बढाउने भन्दा पनि व्यवसाय दर्ता नगरेका सबै व्यवसायीहरुलाई करको दायरामा ल्याउने उदेश्य रहेको बताइन् ।
कार्यक्रममा मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, वडा सदस्यहरु सीमा रसाइली, भविन्द्र सुब्बा, होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ -गोपाल-, स्थानीय ज्येष्ठ नागरिक लगायतको उपस्थिति रहेको थियो ।
अभियानको सहजीकरण नगरपालिकाका राजश्व शाखा प्रमुख प्रेमप्रसाद पराजुलीले गरेका थिए । उनले नगरमा नियमित कर तिर्ने १८ हजार करदाता रहेको जानकारी दिए । अझै ४८ प्रतिशत व्यवसायीले व्यवसाय दर्ता नगरेको उनको भनाई छ ।  सोमबारको अभियानमा २० जना नयाँ व्यवसायीले व्यवसाय दर्ता र पुराना ६ जना व्यवसायीले नविकरण गरेको पराजुलीले बताए । आर्थिक वर्ष २०८२÷०८३ को असार मसान्तसम्म यो अभियान मेचीनगरका मुख्य–मुख्य बजारमा सञ्चालन हुने छ ।