काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचना प्रविधिको तीव्र विकास र डिजिटल मिडियाको प्रभावसँगै सञ्चारमाध्यमले नागरिकको आवाज र सामाजिक हितलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका छन्।

गोरखापत्र प्रकाशनको १२६औँ वर्ष प्रवेशका अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले सञ्चारमाध्यमप्रति नागरिकको अपेक्षा र विश्वासलाई केन्द्रमा राखेर कार्य गर्नुपर्नेमा जोड दिए।

उनले सरकारी सञ्चार संस्थानहरूलाई समयानुकूल, व्यावसायिक र उत्तरदायी बनाउन आवश्यक रहेको उल्लेख गर्दै कर्मचारीहरूलाई जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिए। 

साथै, लामो समयदेखि रहेका समस्या मात्र औँल्याउने नभई समाधानमुखी सोच आवश्यक रहेको बताए। मन्त्री तिमिल्सिनाले गोरखापत्र संस्थानको पुनर्संरचना अपरिहार्य भएको उल्लेख गर्दै देशको विविधता र भाषिक सम्पदाको संरक्षण र प्रयोगलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। उनले गोरखापत्रको पत्रकारिताको शैली र प्रविधिमा आएको परिवर्तनलाई आत्मसात गर्दै संस्थालाई अझ प्रभावकारी र विश्वसनीय बनाउनुपर्ने आवश्यकता औँल्याए।

“आजका असल कामले भोलिको इतिहास निर्माण गर्छ,” उनले भने। कार्यक्रममा उनले गोरखापत्रद्वारा आजदेखि प्रकाशन सुरु गरिएको सन्थाल र हायु भाषाको समाचार पृष्ठको प्रतिकृति पनि अनावरण गरे।