प्रकाश उप्रेती
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी निर्वाचनलाई लक्षित गर्दै मेचीनगरमा चुनावी सरगर्मी तीव्र बनेको छ । संघले मंगलबार सदस्य नवीकरण प्रक्रिया पूरा गरेसँगै नयाँ नेतृत्व चयनको चर्चा झन् तातेको हो । नयाँ कार्यसमितिका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव तथा महिला उपाध्यक्ष पदमा आकांक्षीहरूको संख्या बढेको छ । अधिकांश आकांक्षी हाल आफू रहेको पदभन्दा माथिल्लो जिम्मेवारीमा पुग्ने तयारीमा देखिएका छन् ।
संघको अध्यक्षसहितको पदमा जीत हासिल गर्न आन्तरिक रुपमा जोडघटाउको रस्साकस्सीमा उत्रेको पाइन्छ । अध्यक्षसहितको पदका लागि खुलेर नाम बाहिर नआएपनि आकांक्षी भने पर्याप्त भएको देखिएका छन् । आफ्नो कार्यकालमा अपूर्ण रहेको सबै कार्यसम्पादन पूरा गर्ने लक्ष्यसहति अध्यक्ष पदमा वर्तमान अध्यक्ष खेमराज प्रसाईंले पुनः उम्मेद्वारी दिने निश्चित गरेका छन् । अर्का अध्यक्षका प्रत्यासी किशोर क्षेत्री ९कपिल० रहेका छन् । उनी संघका वरिष्ठ उपाध्यक्ष हुन् ।
उद्योगको वरिष्ठ उपाध्यक्ष पदका लागि भूमि पौडेलसहित तीन जना आकाँक्षी रहेका छन् । संघका उद्योग उपाध्यक्ष रहेका पौडेलले यसअघि आफु अध्यक्ष पदको आकांक्षी रहेको पत्रकारमाँझ सार्वजनिक गरेका थिए । एसो विचार गर्दा अग्रजहरुसँग सहकार्य गरेरै अघि बढ्नुपर्ने देखिएकाले किशोर क्षेत्रीलाई अध्यक्ष पदमा स्वीकार गरेको भूमि पौडेलको भनाई छ । वरिष्ठ उपाध्यक्ष पदमा हरि कोइराला, भीम कुँवर र ध्रुव कनालको नाम चर्चामा छ । कुँवर पूर्व उपाध्यक्ष र कनाल संघका पूर्व महासचिव हुन् ।
उद्योग उपाध्यक्ष पदमा आनन्द खड्काले उम्मेद्वारी दिने निश्चित गरेका छन् भने वाणिज्य उपाध्यक्ष पदका लागि सन्तोष खवास र तिलक थापा आकांक्षी देखिएका छन् । महिला उपाध्यक्ष पदमा दुई महिलाले उम्मेद्वारी दिने तयारी गरेका छन् । यसअघि उपाध्यक्ष रहेकी निर्मला चौहान पुनः सोही पदमा दोहोरिने निश्चित भएको छ भने पूर्व सदस्य उषा श्रेष्ठ उपाध्यक्ष पदको आकांक्षी हुन् । यसअघि तीन वर्ष कार्यकाल सम्हालिसकेका दिनेश शाक्यले पुनः महासचिव पदमै उम्मेद्वारी दिने निर्णय गरेका छन् । सदस्य पदका लागि मानकुमार कटुवाल, ललित अग्रवाल, सुरज चौधरी, दिनेश पोख्रेल र सचिव निरौला लगायतले उम्मेद्वारी दिने तयारी गरेका छन् । संघको विधानअनुसार ८ जना खुला र २ जना महिला सदस्यसहित १० जना सदस्य निर्वाचित हुनेछन् । निर्वाचित सदस्यहरूमध्ये एक जनालाई पछि सचिव पदमा मनोनित गरिने व्यवस्था रहेको छ ।
२ हजार ११५ सदस्यले मात्रै मताधिकार प्रयोग गर्न पाउनेः
संघले आगामी बैसाख १९ गते साधारण सभा र २६ गते निर्वाचनको मिति तय गरेको छ । मेचीनगरका १५ वटै वडाभित्र सञ्चालनमा रहेका वाणिज्य संघमा दर्ता र नवीकरण गरेका व्यवसायीमात्रै मतदान गर्न पाउनेछन्। संघका निर्देशक गोपाल बस्नेतका अनुसार नगरभित्रका नयाँ र नविकरण गरी २ हजार १ सय १५ जना सदस्यले मात्रै मताधिकार प्रयोग गर्न पाउने भएका छन् ।
यसअघि १६ सयबढी सदस्य रहेकामा यो पटक बढेर २ हजार ११५ व्यवसायी रहेको जनाएका छन् । ती व्यवसायीमध्ये पान नम्बरमा उल्लेख भएका व्यक्ति र कम्पनीबाट पठाएका प्रतिनिधिले मात्रै मतदान गर्न पाउने संघको विद्यानले अधिकार दिएको छ । पान नम्बरमा उल्लेख नभएका व्यक्ति वा कम्पनी प्रतिनिधि बाहेकले मेची उद्योग वाणिज्य संघको चुनावमा मतदान गर्न पाउने छैनन् । एकभन्दा बढी फर्म प्रयोग गर्ने व्यवसायीका लागि एक मत आफुले हाल्न पाइनेछ भने नाम उल्लेख गरिएका प्रतिनिधिले मात्रै मताधिकार प्रयोग गर्न पाउने जनाएको छ ।
संघको यस्तो छ इतिहासः
मेची उद्योग वाणिज्य संघको स्थापना २०५४ सालमा मेची नगरपालिकाको अवधारणा अघि बढेसँगै भएको हो । स्थापना कालमा पन्नालाल जैनको नेतृत्वमा काँकरभिट्टा र धुलाबारीका व्यवसायीलाई एउटै छातामुनि ल्याई व्यवसायिक अधिकार र प्रवर्द्धनका लागि पहल गरिएको थियो । आफ्नोे हकहित तथा अधिकारका विषयमा खासै नबुझेका उद्योगी व्यवसायीको हितमा पहिलो पटक कामको थालनी गर्दै अध्यक्ष जैनले एक कार्यकाल नेतृत्वमा रहेर कार्यसम्पादन गरेका थिए ।
त्यसपछि नरेन्द्रकुमार खड्काले २०५६ सालदेखि २०६१ सालसम्म दुई कार्यकाल अध्यक्ष रहेर संघलाई दीशा निर्देशसहित सञ्चालन गरेका थिए । २०६१ सालदेखि ०६५ सालमा र पुनः ०७० सालदेखि २०७२ सम्म विजय डाल्मियाले संघको अध्यक्ष पदमा रहेर संघमा आवद्ध व्यवसायीको हित तथा प्रोत्साहनमा जिम्मेवारी पूरा गरेका थिए ।
डाल्मियाको नेतृत्वपछि २०६५ देखि ०६९ सालसम्म व्यवसायी केशवराज पाण्डेले मेची उद्योग वाणिज्य संघमा २०७२ सालदेखि चार वर्ष कार्यसम्पादन गर्दै गर्दा नेपाल उद्योग बाणिज्य महासंघले उत्कृष्ठ सावित गर्दै सम्मान गरेको थियो ।
२०६८ सालमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईकोले संस्थालाई सम्मान गरेको पाइन्छ । २०७५ सालसम्म पंकजबिक्रम नेम्वाडले एक कार्यकाल अध्यक्षको जिम्मेवारी लिइँदै संस्थालाई उचाइ थप्ने काम गरेका थिए ।
२०७५ सालदेखि ०७९ सालसम्म ऋषि तिम्सिनाले संघ र व्यवसायीको हकहितका लागि योजना अघि सारेका थिए । उक्त समयमा कोभिड १९ को महामारी समस्याकै कारण केही योजनामात्रै सफल सावित भएको थियो । व्यवसायीको व्यापार प्रबद्र्धनसहित स्वास्थ्योवस्थाको समस्या समाधानको जिम्मेवारीसमेत थपिएको तिम्सिनाको कार्यकालमा देशभरका बाणिज्य संघमध्ये मेची उद्योग बाणिज्य संघालाई कार्यसम्पादनका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका थिए ।
त्यसपछि हाल खेमराज प्रसाईले संघको वाकडोर सम्हाल्दै आएका छन् । अध्यक्ष प्रसाईंको कार्यकालमा व्यवसायीको हकहित तथा अधिकारका लागि जवाफदेही नेतृत्वको रुपमा कार्यसम्पादन गरेको भन्दै गत २०८० सालमा नेपाल उद्योग बाणिज्य महासंघको ५८ औं सभामा संघलाई सम्मान गरेको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संस्थाका अध्यक्ष खेमराज प्रसाईंलाई सम्मान गरेको संघको कार्यसम्पादन मूल्याड्कन पानामा उल्लेख छ ।
संघले व्यवसायीको हकहित कसरी गर्दैछ ?
३ वर्ष कार्यकाल रहने मेची उद्योग बाणिज्य संघको कार्यक्षेत्रमध्ये सबैभन्दा धेरै एक हजारबढी सदस्य मेचीनगर १० धुलाबारी रहेका छन् । साना र ठूला गरी करिव अढाई सय उद्योगी रहेका छन् । उद्योगी व्यवसायीका लागि आफू अध्यक्ष रहदा ल्याएको व्यवसायी प्रोत्साहनसहित दैबिक प्रकोप राहतका लागि वीमा कार्यक्रमले प्रभाकारी बनेको पूर्वअध्यक्ष ऋषि तिम्सिनाको भनाई छ ।
सानो लगानीबाट सुरु गरेको उद्योग व्यवसायमा आगलागी, भूकम्प र हावापानीले नोक्सान पुर्याउदा प्रत्यक्ष मार्कामा पर्दै आएका व्यवसायीको हितका लागि वीमा अवधारणा व्यवसायीका लागि राहत बनेको पाइन्छ । एउटा व्यवसायीको क्षति भएमा वीमितले रु १ लाख नगद र परिवारले २५ हजार पाउनेछन् । जसका लागि वीमा कम्पनीसँग संघले समन्वय गर्दै प्रतिव्यवसायी रु २ सय रुपैयाँ बुझाउँदै आएको अध्यक्ष खेमराज प्रसाईले जानकारी दिए ।
ढक तराजू, विद्युतीय उपकरण परीक्षण तथा नवीकरणका लागि नापतौल विभाग कार्यालयसम्म पुर्याउनुपर्ने झञ्झटबाट व्यवसायी मुक्त भएको उनीहरुको भनाई छ । हाल नजिकैको चोकमा नापतौल विभागको डोर टोलीले परीक्षण गर्दै नवीकरण गर्दै आएको छ । व्यवसायीको हितका लागि घरवटीसँग छलफल गर्दै भाडा मूल्यमा समन्वय, व्यवसायीको अवस्था हेरेर बैंक कर्जा प्रोत्साहन तथा समन्वय गर्दै आएको अध्यक्ष प्रसाईको भनाई छ । साथै आयात निर्यातमा देखिएको समस्यामा समेत संघको नेतृत्व व्यवसायीको पक्षमा उभिने गरेको व्यवसायीको भनाई छ ।





















































