झापा । सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीकै मिलेमतोमा अवैध सामान भित्रिने गरेको खुलेको छ । झापाको पूर्वी नाका काँकरभिट्टा क्षेत्रमा खटिने सशस्त्र प्रहरीकै संरक्षणमा लाखौं मूल्य बराबरको अबैध सामग्री तस्करी हुनेगरे पनि कार्यालय प्रमुख भने थाहा नभएको बताउँदै आएका छन् ।
गन्तव्यसम्म सामान पुर्याइदिने सेटिङ भएपछि काँकरभिट्टा क्षेत्रमा व्यापारीले भारतबाट चोरीको बाटो हुँदै अवैध सामान भित्र्याउने गरेको पाइएको छ । शुक्रबार राति १८ वटा सवारी साधनमा भन्सार छलेका अवैध सामाग्री ढुवानी गरेको श्रोतले बताएको छ । अवैध सामान कटाउन सशस्त्र प्रहरी सीमा सुरक्षा बल गुल्म काँकरभिट्टाका वरिष्ठ हवल्दार सन्तोष थापा र असई चुदराज थापाले स्कटिङनै दिएका थिए । सामान कटाउन स्कटिङ दिँदा थापाद्धय विना वर्दीमा थिए । अघिअघि सशस्त्रको मोटरसाइकल पछाडि अवैध सामग्री बोकेका सवारी विर्तामोड र दमक पुर्याएको श्रोतको दावी छ । हवल्दार थापा शुक्रबार वेलुका जोरसिमल चेक पोष्टमा खटिएका थिए ।
प्रतिसवारी दुईदेखि पाँच हजार नजराना उठाएबापत सामान स्कटिङ गरेर सुरक्षित पुर्याउन मद्दत गरेका थिए । व्यापारीले मेचीनगरको काँकरभिट्टास्थित साठीविगेमा यात्रुबहाक म्याजिक र मालवहाक विकअप गरी दर्जनबढी सवारी अवैध सामान ढुवानीका लागि प्रयोग गरिएको थियो । सशस्त्र प्रहरीको कार्यालय काँकरभिट्टादेखि ५० मिटर पश्चिम–दक्षिणमा साठीविगे ठाउँ छ । उक्त ठाउँ दिन र रातको समयमा अवैध सामानको अड्डा बन्दै आएको छ । भारतको विभिन्न ठाउँबाट भन्सार छलेर ल्याइएको अवैध सामाग्री स्टोर गर्ने र व्यापारीले सम्बन्धित बजारसम्म पुर्याउने गरेका छन् । कार्यालयकै अघिल्लो भागमा देशको भन्सार छली सामग्री भित्रिरहँदा मुखदर्शन बन्ने मात्रै होइन, नजराना उठाएर उक्त अवैध सामग्रीको सुरक्षामा खटिने गरेको पाइन्छ ।
कार्यालयको इचार्जको रुपमा डिएसपी विकास थापा छन् । केही समयअघि सरुवा भई काँकरभिट्टा वेस क्याम्पको नेतृत्व सम्हाल्दै आएका थापा धार्मिक, अध्यात्मिक तथा सालिन स्वभावका छन् । डिएसपी थापाको स्वभाव बुझेका वरिष्ठ हवल्दार र सई थापाद्धयले नेतृत्वकै अघि नजराना उठाउँदै अवैध सामग्री तस्करी गरेर फाइदा उठाउँदै आएको त्यहाँ कार्यरत प्रहरी श्रोतको भनाई छ । डिएसपी थापा आउने वित्तिकै सीमा क्षेत्रमा एकसाता कडाई भएको थियो । सिभिललाई ठाउँ स्थान्तरण समेत गरिएको थियो । एकसाता वित्न नपाउँदै सर्वसाधारणलाई ‘ऐन’ लगाउने ठूला व्यापारीलाई ‘चैन’ झैं सावित गर्दै आएको पाइन्छ ।
डिएसपी विकास थापा अन्य हाकिम भन्दा फरक छन् । उनी कार्यालय आउनासाथ त्यहाँ कार्यरत प्रहरीलाई सीमा क्षेत्रको सुरक्षा गर्दै अवैधधन्दा नियन्त्रणदेखि कोही कसैसँग एक रुपैयाँको पनि लेनदेन नजराना उठाउने र घुस नखाने आदेश गरेका थिए । उनको आदेशलाई मातहतका प्रहरीले उल्लड्घन गर्दै अवैध तस्करीलाई वढावा दिएको पाइन्छ । थापाद्धय अवैध कारोवारी विवादमा मुछिदै आएका व्यापारी पिन्टु शाह र उनका सहकर्मी पुजा शाहले लाखौं मूल्यका कपडा, रासन र काजु किसमसि भित्र्याउने र गन्तब्यमा पुर्याउँदै आएका थिए । सवारी लोड हुँदै गर्दा स्थानीयले दिएको सूचनालाई डिएसपी थापासम्म पुगेको थियो ।
डिएसपी थापाले प्रमाण भए पाउँ भन्दै त्यस्तो कार्यमा संलग्न भएको पुष्टी भए कारवाही गरिने जनाउदिएका थिए । उक्त गतिविधिको बारेमा शसस्त्र प्रहरी वल नेपाल २ गणका प्रहरी उपरीक्षक अम्बिका जोशीले तत्काल अप्रेशन अघि बढाउने भन्दै आस्वस्त बनाएका थिए । उनले सीमा क्षेत्र समस्या बन्दै आएको बताउँदै सीमा सुरक्षासँगै अवैध चोरी तस्करी नियन्त्रण गर्नु आफनो विभाग र मातहतको महत्वपूर्ण जिम्वेवारी भएको उनको भनाई छ । उनले स्थानीयले दिएको सूचनालाई सुनुवाई नगरेको गुनासोेप्रति कार्यालय प्रमुखलाई सचेत गराउने जानकारी दिए ।



















































