मेचीनगर । प्रतिनिधिसभा सदस्यका लागि झापा निर्वाचन क्षेत्र नम्बर १ मा दुई स्वतन्त्रसहित १५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट मेचीनगर-१० निवासी अशेष घिमिरेले प्रस्ताव  राजन चिमरिया र बोधराज दाहालको समर्थनमा उम्मेदवारी दर्ता गराएका छन्।

नेपाली कांग्रेसबाट मेचीनगर-७ का केशवराज पाण्डेले उम्मेदवारी दर्ता गराएका छन्। प्रस्तावकमा क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी र महाधिवेशन प्रतिनिधि लोकराज ढकाल समर्थक रहेका छन् । नेकपा (एमाले)को तर्फबाट मेचीनगर-६ का रामचन्द्र उप्रेतीले मनोनयन दर्ता गराएका छन् । नेता विष्णु प्रसाईं प्रस्तावक र श्रीप्रसाद मैनाली समर्थक रहेका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट भद्रपुरकी निशा डाँगीले  प्रेमराज घिमिरे प्रस्तावक र समर्थकमा असिम दाहाल रहेका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट मेचीनगर-४ निवासी हेमराज कार्कीले चुनावी मैदानमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।श्रम संस्कृति पार्टीबाट मेचीनगर-६ का केवलराम राई, मंगोल नेशनल अर्गनाइजेशनबाट मेचीनगर–२ का सन्तोष तामाङ, उज्यालो नेपाल पार्टीबाट मेचीनगर–३ का नरेश कुमार लावती, नेपाल मजदुर किसान पार्टीबाट हिरण्य प्रसाद भट्टराई, नेपाल जनमुक्ति पार्टीबाट खान्द्रु बुरुवा, जनता समाजवादी पार्टीबाट रमा मेचे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मानबहादुर साँवा लिम्बु र नेपाल सद्भावना पार्टीबाट ओलिन राजवंशीले उम्मेद्वार दर्ता गराएका छन् ।

दलहरू बाहेक दुई जना मेचीनगर–८ का गणेशप्रसाद खरेल र दुर्गाप्रसाद सावाँ लिम्बुले स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिने भएको छन् । निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार शान्तिपूर्ण वातावरणमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गराएको जानकारी दिए ।