झापा । झापामा लामो समयदेखि साइकल, मोबाइल, मोटरसाइकल तथा मोटरलगायतका सामान चोरी गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अर्जुनधारा नगरपालिका–६, बिहानी टोलमा डेरा गरी बस्दै आएका दुई जना भारतीय नागरिकलाई चोरीका सामानसहित पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा भारत बिहार राज्य किशनगञ्ज स्थायी ठेगाना भई हाल अर्जुनधारा–६ बस्ने ३५ वर्षीया खतिजा वेगम र २३ वर्षीय मोहमद रज्जाक रहेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले उनीहरू बस्दै आएको कोठाबाट ९ थान साइकल, २३ थान विभिन्न कम्पनीका मोटर, फलामका पाइप र रड, एक थान मोटरसाइकल, मोबाइल फोन, ग्यास इन्डक्सन चुलो, वेल्डिङ मेसिन कभर, साउन्ड बक्स, नक्कली भारतीय नोटसहित ठूलो परिमाणमा चोरीका सामान बरामद गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।





















































