बेलबारी । पारिवारिक विवाद हुँदा भतिजी बुहारीले विष मिसाएर खाना दिँदा सासुको मृत्यु भएको छ । ससुरा गम्भीर घाइते भएका छन् । मोरङको बेलबारी नगरपालिका–२ मा बुहारीले खानामा विष मिसाएर दिँदा वृद्ध दम्पती ७० वर्षीय भक्तबहादुर राई र ७७ वर्षीया श्रीमती ईन्द्रमाया राई गम्भीर घाइते भएका थिए । नोबेल मेडिकल कलेजमा उपचारका क्रममा इन्द्रमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले जानकारी दिए ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भतिजी बुहारी ३२ वर्षीया सुनिता कार्कीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार घटना शनिबारको हो । दिउँसो करिब ३ बजे घर नजिकै खोल्सीमा स्थानीयले भक्तबहादुर राईलाई बेहोस अवस्थामा फेला पारेका थिए । खोल्सीबाट उद्दार गरि घर पुर्याउँदा अवस्था झन् दर्दनाक थियो । प्रहरीका अनुसार वृद्धलाई घर लिएर जाँदा घरमा उनकी ७७ वर्षीया श्रीमती ईन्द्रमाया राई बेहोस अवस्थामा लडिरहेकी थिइन् । आँगनमा ३ वटा कुखुरा मरेको अवस्थामा भेटिए । विष खाएको आशंकामा स्थानीयले वृद्ध दम्पतिलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा पठाएको थियो ।
भक्तबहादुर राईको गम्भीर अवस्थामा उपचार भइरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा खानामा विष मिसाइएको तथ्य खुलेको प्रहरीले बताएको छ । खानामा विष मिसाएर खुवाएको आरोपमा प्रहरीले सोही घरमा बस्ने राई दम्पतीकी भतिजी बुहारी ३२ वर्षीया सुनिता कार्कीलाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार, बुहारीले खानामा विष मिसाएर खुवाएको प्रहरीसमक्ष स्वीकार गरेकी छन् । खानामा विष मिसाएपछि उनले विषको बट्टा अँगेनामा डढाएको बयान दिएकी छन् । प्रहरीले जलेको बट्टा पनि फेला पारेको छ । विष खुवाउने कारण भने पारिवारिक विवाद देखिएको प्रहरी स्रोतले जनाएको छ । कार्कीलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ ।




















































