झापा । झापा प्रहरीले राजस्व छली अबैध रुपमा भित्र्याइएका विभिन्न उपभोग्य सामग्रीसहित तीन वटा सवारी साधन नियन्त्रणमा लिएको छ । नियमित चेकजाँचका क्रममा अवैध ढुवानीको आशंकामा रोकिन आएका ती गाडीबाहेक भन्सार छलीका ठूलो परिमाणका सामानसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मे. १ च. ६८९२, प्र.१–०१–००१ च. ७५२४ र मे. १ च.४०४५ नम्बरका सवारी साधन र सवारीमा लोड गरेको ठूलो मात्रामा विदेशी रक्सी, बियर, बेबी डाइपर, कस्मेटिक र खाद्य सामग्री लोड भएको फेला पारिएको हो । पक्राउ परेका व्यक्तिहरूलाई प्रारम्भिक सोधपुछपछि राजस्व अनुसन्धानका लागि इटहरीस्थित राजस्व कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

बरामद सामानमध्ये चुलबुल ब्रान्डको रक्सी २०० कार्टुन, गोर्खा बियर १५० कार्टुन, बच्चाको डाइपर ४१ कार्टुन, इन्चान्टर नामक कस्मेटिक १९ कार्टुन, ओरियो बिस्कुट १६ कार्टुन तथा सेलो र विकुल ब्रान्डको खाने तेल ८० कार्टुन रहेका छन् । यी सबै वस्तु भन्सार छली गरी भित्र्याइएकाे प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा संलग्न रहेको आरोपमा अर्जुनधारा–११ का ४३ वर्षीय दिलिप खड्का, अर्जुनधारा–५ का ५४ वर्षीय राजाराम खड्का र भद्रपुर–१ का ४७ वर्षीय उदेन राईलाई पक्राउ गरिएको हो । प्रहरीले भन्सार छलीको श्रृंखलाबद्ध गतिविधि रोक्न सक्रिय अनुगमनलाई अझ कडाइ गर्ने बताएको छ ।