भोजपुर। भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको गुम्बा–कोट–दिप्सा–पाँचधारे सडकमा निर्माण गरिएको कालोपत्र गुणस्तरहीन भएको जनाउँदै स्थानीयवासीले निर्माण कम्पनीलाई कारवाहीको माग गरेका छन् । गत असार महिनामा सडक कालोपत्र निर्माण गरिएकोमा महिना दिन नपुग्दै उप्किएपछि कार्वाहीको माग गरेका हुन् ।
कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किनुका साथै बीच सडकमा घाँस उम्रिएको टेम्केमैयुङ ६ का वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए ।“सडक कालोपत्र भएको महिना दिन नपुग्दै उप्किएको छ” वडाध्यक्ष नेपालले भने, “सडक निर्माणको काममा अत्यान्तै लापरवाही भएको अवस्था छ । कालोपत्र सडकको बीचमा घाँस उम्रिएको छ ।
निर्माणमा गुणस्तरहिन काम भएको प्रष्ट देख्न सकिन्छ ।”
सडक डिभिजन कार्यालय तुम्लिङटारअन्तर्गत आर एन आर आर कम्पनीले असार महिनामा यहाँको शुन्य विन्दु गुम्बाबाट एक किलोमिटर सडक कालोपत्र गरेको वडाध्यक्ष नेपालले बताए ।
टेम्केमैयुङका चार वटा वडासँगै खोटाङ जिल्लालाई जोड्ने सडकमा सुरुवाती चरणमै गुणस्तरहिन काम भएपछि स्थानीय आक्राकोसित बनेको उनको भनाइ छ । कालोपत्र गरिएको सडक छोटो समयमा ठाउँठाउँमा भत्किएको टेम्केमैयुङ–७ का वडाध्यक्ष बालबहादुर खड्काले बताए । गैर जिम्मेवारढङ्गले सडक कालोपत्र गर्ने निकायलाई राज्यले कारवाहीको दायरामा ल्याउनु पर्ने उनको भनाइ छ ।
“यो सडक निर्माणमा अत्यान्तै गुणस्तरहिन काम भएको अवस्था छ” वडाध्यक्ष खड्काले भने, “कालोपत्र सडक भत्किएको छ । अरु त के कालोपत्र गरिएको सडकमा झार उम्रिएको छ । हामीले गुणस्तरहिन काम गर्नेलाई कारवाहीको माग गरेका छौँ ।”
सडक कालोपत्रको क्रममा नालीसमेत व्यवस्थित नगरिएको स्थानीयबासी शरण राईले बताए । सडक कालोपत्र सुरु हुँदा उत्साहित बनेको अवस्थामा अहिले स्थानीय निरास बनेको उनको भनाइ छ ।