झापा । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहलाई एक लाख रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरिएको छ ।
बुधबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले मेयर साहलाई नगरपालिकाको कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।
अख्तियार स्रोतका अनुसार मेयर साहले एक उपभोक्ता समितिबाट पूर्ण भुक्तानी दिने आश्वासनमा एक लाख रुपैयाँ घुस लिँदै गर्दा दिउँसो करिब १:४५ बजे पक्राउ गरिएको हो ।
घटनास्थलमै मुचुल्का तयार गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको अख्तियारले जनाएको छ । मेयर साहको पक्राउसँगै स्थानीय तहमा व्याप्त भ्रष्टाचारको अवस्था फेरि एकपटक सतहमा आएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस तथा भ्रष्टाचारविरुद्धको अभियान अन्तर्गत मेयरसहित संलग्न अन्य पक्षहरूमा समेत अनुसन्धान जारी राखेको जनाएको छ ।





















































