कन्याम । प्रदेशस्तरीय फोटो प्रतियोगिता तथा प्रदर्शनीबाट फोटो पत्रकार एपी तोलाङको तिङबुङ पोखरीको फोटो प्रथम भएको छ। कोशी प्रदेशभित्रका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले इलामको प्रमुख पर्यटकीय गन्तव्य कन्याममा आयोजित प्रदर्शनीबाट तोलाङको फोटो प्रथम भएको हो ।

उनले २५ हजार नगद पुरस्कार र प्रमाणपत्रले कार्यक्रमका प्रमुख अतिथि वन तथा पर्यटन मन्त्री सदानन्द मण्डलले सम्मान गरेका थिए ।

प्रतियोगितामा बसन्त लिम्बू दोस्रो, डेविड ओझा तेस्रो, निसान्त राना चौथो तथा मनोज बस्नेत पाँचौं स्थानमा परेका छन्। उत्कृष्ट पाँच फोटोग्राफर र फोटोपत्रकारलाई क्रमशः , २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ। 

कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा तथा नेपाल फोटोपत्रकार महासंघ कोशी प्रदेशको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो। प्रतियोगितामा प्राप्त २०८ फोटोहरूमध्ये ६० उत्कृष्ट फोटोहरू छनोट गरी प्रदर्शनीमा राखिएको कार्यक्रम संयोजक तथा फोटोपत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष विनोद पाण्डेले जानकारी दिए ।