काठमाडौं। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगानाले कायम मुकायम (कामु) गभर्नरको जिम्मेवारी पाएकी छिन् । गभर्नर महाप्रसाद अधिकारी आफ्नो पाँच वर्षे कार्यकाल पुरा गरेर चैत २४ गतेदेखि बिदा भएसँगै गभर्नरको पद रिक्त छ । सोही रिक्त पदको अल्पकालीन पदपुर्तिका लागि अर्थमन्त्रालयले डेपुटी गभर्नर ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी दिएको हो । 
मन्त्रालयले सोमबारदेखि लागू हुने गरी ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी तोकेको छ । उक्त पत्र ढुंगानालाई आजै पठाइएको समेत मन्त्रालयले जनाएको छ ।पत्र प्राप्त गर्नासाथ ढुंगानाले राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी सम्हालेको सूचना अधिकारी डा.भागवत आचार्यले जानकारी दिए । 
राष्ट्र बैंकको १८औं गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा तीन सदस्यीय छनोट तथा सिफारिस समिति गठन भएको छ । तर, उक्त समितिले हालसम्म गभर्नर नियुक्तिको प्रक्रिया अघि बढाउन नसक्दा अन्योल बनेको छ । तथापि, आजै दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ ।