झापा । झापाको मेचीनगर-१४ प्रगति टोलमा सञ्चालित बैभव भेनियर उद्योगमा आगलागी हुँदा ३ करोड बढी मुल्यको भेनियर पत्ता जलेर नष्ट भएको छ ।
शनिबार बिहान ११.२५ बजे भेनियरमा कार्यरत मजदुर बस्ने क्वाटरमा जडित विद्युत सर्ट भइ सल्किएको आगो छेउको गोदामबाट भीषण रुपमा फैलिएरपछी भेनियर पत्तासहित मजदुर बस्ने क्वाटर जलेर ३ करोड मुल्य बराबरको क्षति भएको हो ।

उद्योगले उत्पादन गरेको भेनियर पत्ता केही दिनयता निर्यातमा समस्या आएपछि ३० ट्रकबढी गोदाममै राखिँदै आएको थियो । उक्त गोदाममा राखिएको ठुलो परिणामको भेनियर पत्ता भएकाले ठुलो क्षति भएको बैभव भेनियर उद्योगका सञ्चालक प्रदीप मित्तलले जानकारी दिए ।

उनका अनुसार एक ट्रक भेनियर पत्ताको ९ देखि १० लाख मुल्य पर्छ । आगलागी सुरु भएपछि केही भेनियर पत्ता गोदामबाट सारेर क्षति हुनबाट जोगाउन सफल भएको छौं । मेसिन- औजार र काठका गोलाइमा भने क्षति हुन नपाएको उनको भनाई छ ।
आगो नियन्त्रणका लागि मेचीनगरका २ वटा, बिर्तामोड, भद्र्पुर कमल, दमक, भद्रपुर नगरपालिकाको दमकलले ५ घण्टापछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धुलाबारीले जानकारी दिएको छ ।

१० वर्ष अघि गायत्री भेनियर उद्योगको रुपमा र करिव एकवर्ष यता बैभव भेनियर उद्योगको नाममा आनन्द खड्काले सञ्चालनमा ल्याएका छन् ।
१० बिगाह जमिनमा ९ बर्षयता सञ्चालनमा आएको उद्योगमा हाल ५५ जना स्थाइ र ४५ जना अस्थायी रुपमा कामदारको रुपमा कार्यरत छन् ।
शुरुमा आगो सल्किएपछी कामदारले कलमा जडित मोटरको सहायताले निभाउने कोसिस पनि गरे तर, भीषण रुपमा फैलिएको आगो नियन्त्रणमा आउन नसकेको कामदारले बताए ।

भेनियर पत्ता राखिने गोदाम र कामदारको क्वाटर अलगअलग नै थियो । हावाका कारण चौतर्फी फैलिएपछी आगो नियन्त्रणबाहिर पुगेको थियो ।आगो नियन्त्रणका लागि सेना अरिदमन गण चारआली उप सेनानी रुपक राउतको नेतृत्वमा ३५ जना नेपाली सेना, सीमा सुरक्षा गुल्म काँकरभिट्टा सशस्त्र प्रहरी निरीक्षक रोशन घिमिरेको नेतृत्वमा १७ सशस्त्र प्रहरी परिचालन गरिएको प्रहरी श्रोतले जानकारी दिएको छ । त्यस्तै इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीको नेतृत्वमा १० जना र प्रहरी चौकी चारआलीका प्रहरी नायव निरीक्षक प्रमोद रेग्मिको नेतृत्वमा ५ जना प्रहरी आगो नियन्त्रणका लागि खटेका थिए ।





















































