मनोज सिटौला
बुढानिलकण्ठ । `शिक्षा, सीप र उद्यमशीलता रोजगारी हाम्रो प्राथमिकता´भन्ने नारासहित बुढानिलकण्ठ नगरपालिकाले चौथो रोजगारी तथा वृत्ति मेला आजदेखि आयोजना गरेको छ ।
बिगत तीन वर्षयता वृत्ति मेला आयोजना गर्दै आएको बुढानिलकण्ठ नगरपालिकाले फागुन २ र ३ गते चौथो रोजगारी तथा वृत्ति मेलाको आयोजना गरेको हो ।
नगरपालिकाको यसपालीको मेलामा बेरोजगार युवालाई उनीहरुको क्षमताकाे आधारमा रोजगारी प्रदान गर्ने विषेश प्राथमिकतामा राखेर मेलाको तयारी गरेको बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले जानकारी दिए ।
चौथो रोजगार तथा वृत्ति मेलाको पुर्णसफलका लागि नगरपालिकाकी उपप्रमुख अनिता लामाको सहसंयोजकमा मूल आयोजक समितिसमेत गठन गरेर तयारी तीब्र बनाइएको छ । मूल आयोजक समितिमा विभिन्न संघसंस्थाहरु नगरका उद्योग वाणिज्य संघ, सामुदायिक तथा संस्थागत विद्यालयहरु सदस्यको सहभागी गराइने जनाइएको छ ।
उद्योग बाणिज्य संघकाे अगुवाइमा निजी क्षेत्रलाई सहभागी गराउन यसअघि नगरले विभिन्न चरणमा छलफल गरेको थियो ।
२५ हजारबढीको सहभागीता रहने अपेक्षा गरिएको मेलामा विभिन्न सीपमुलुक, लघु उद्यम लगायतका ४२ वटा स्टल रहने र स्टलमध्ये २० वटा रोजगारदाता, शिक्षा क्षेत्रका ६ वटा सीप तालिम प्रदायक, ६ वटा उन्नतशील युवा उद्यम, ७ वटा रमाइलो शुक्रबार प्रवर्धक र बाँकी ६ वटा विविध विषयका स्टलहरु रहने जनाएको छ ।
मेला अवधिमा दर्जनौं बेरोजगार युवाहरुले रोजगारी प्राप्त गर्ने अपेक्षा गरिएको छ । नगरपालिकाभित्रका बेरोजगार युवाहरुलाई दीगो रोजगारीमा जोड्ने उद्देश्यले नगरले यसअघि नै १६ वर्षदेखि ४० वर्षका बेरोजगार युवाहरुको तथ्याङ्क संकलन गरिसकेको छ ।
रोजगार तथा वृत्ति मेलामा सहभागी हुनका लागि नगरभित्र सञ्चालनमा रहेका दस हजार व्यवसायिक फर्मलाई मेलामा आमन्त्रण गरिएको छ । मेलामा कम्तिमा एक सयजनालाई मेला अवधिमै रोजगारी दिने, दुई सय जनालाई इन्टर्नका लागि तयारी गर्ने, एक सय ५० जनाका साइकोमेट्रिक टेष्ट, औधोगिक प्रशिक्षार्थी स्किल कम्पिटिसन, विद्यार्थी-अभिभावकलाई समेत करियर सम्बन्धी काउन्सेरिङ, चारसय जना युवाहरुलाई सामुहिक काउन्सेलिङ लगायतका कार्यक्रम राखिएको नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले जानकारी दिए । नेपाल सरकारका शिक्षा, बिज्ञान तथा प्रविधिमन्त्री माननीय विधा भट्टराईले समुदघाटन् गर्ने कार्यक्रम तय गरिएको जनाएको छ ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय गगनकुमार थापा, बाग्मती प्रदेशका सामाजिक बिकास मन्त्री माननीय हरिप्रभा खड्गी, खानेपानी, उर्जा तथा सिंचाई मन्त्री माननीय श्यामबहादुर खड्का, बाग्मती प्रदेश सभाका सदस्य माननीय जयराम थापा र मिना पराजुलीज्यूलाई विशिष्ट अतिथिको रुपमा आमन्त्रण गरिएको जनाएको छ ।





















































