बिर्तामोड । पशुपालन तथा दुग्ध उत्पादक संघले नेपालका दुग्ध डेरी उधोगले भारतबाट मिति गुज्रिएको पाउडर पुनः प्याकेज गरेर नेपालमा बिक्री गर्ने गरेको गम्भीर आरोप लगाएका छन् ।
भारतबाट सस्तो मूल्यमा आयातित पाउडर दुध सरकारले तोकेको मूल्यभन्दा कम मूल्यमा बिक्री गर्ने गर्दा दुध उत्पादक किसानको पलायन बढेको भन्दै उक्त आरोप लगाएका हुन् ।
भारतको बिहारमा उत्पादन भएको पाउडर दुध त्यहाँ बिक्री नभएर फाल्ने गरेको र त्यहीँ दुधलाई पुनः प्याकेज गरेर नेपाल भित्र्याउने र सस्तो मूल्यमा बिक्री गर्ने गरेको संघका अध्यक्ष लक्ष्मीप्रसाद सिटौलाको आरोप थियो ।
त्यहीँ पाउडरलाई प्रयोग गर्ने भएर १४ महिनायता डेरि उद्योगले सरकारले तोकेको दुधको समर्थन गरेको मूल्य उल्लंघन गरेको बिहीबार पत्रकार भेटघाटमा जानकारी दिइएको छ ।
दूध उत्पादक किसानले गुमाएको क्षतिपुर्ती नगरे न्यायलयमा जानेसहित आन्दोलनका कार्यक्रम अघि सार्ने अध्यक्ष सिटौलाद्वारा जारी गरिएको प्रेस बिज्ञप्तिमा उल्लेख छ । अध्यक्ष सिटौलाका अनुसार भारतमा एक किलो पाउडरको मूल्य नेपाली ४२ रुपैयाँ पर्छ । त्यहाँ नेपालकै डेरिको नाममा प्याकेजिङ गर्न लगाइन्छ । यी सबै खर्च ब्यवस्थापनपछि ५०-५५ रुपैयाँमा दूध बिक्री गर्दा नाफा हुने भएकाले नेपालका डेरी उद्योगले किसानले गरेको उत्पादन भन्दा पाउडरमा ध्यान पुगेको स्पष्ट परेका थिए ।
उनले १४ महिना अघि मन्त्री परिषदले तोकेको दुधको समर्थन मूल्य कायम नगरे न्यायलयमा जाने समेतको आन्दोलन गर्ने चेतावनी दिएका थिए । दुग्ध उत्पादक संघ झापाले मन्त्री परिषदले तोकेको दुधको समर्थन मूल्य डेरी उद्योगहरुले कायम नगरेपछि दूध उत्पादक किसानको पलायन बढेको तितो यथार्थ भएको बताए ।
मन्त्री परिषदले २०७९ फागुन १९ गते कच्चा दुध ४ युनिट फ्याट र ८ युनिट एसएनएफ भएको कच्चा दुधको मूल्य ६५ रुपैयाँ र टीएस बापत थप रकम निर्धारण गरेपनि २०८० कार्तिक २३ गते कोशी प्रदेश डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनमा आबद्ध डेरी उद्योग सञ्चालकहरुले एकलौटी रूपमा प्रतिलिटर ८ रुपैयाँ घटाएको उत्पादक संघको आरोप छ । किसानसँग समन्वय नगरी दुधको मूल्य घटाउदा आम्दानीभन्दा खर्च बढेको उनिहरुको भनाई थियो ।
डेरी उद्योगहरुले कोशी प्रदेशमा दैनिक उत्पादित १ लाख ५० हजार लिटर दूध खरिदमा १२ लाख रुपैयाँ कृषकहरुलाई नोक्सान पुर्याइरहेको भन्दै उनीहरुले हालसम्म भएको ५० करोड ४० लाख रुपैयाँ क्षतिपूर्ति भराउनसमेत उनीहरुले माग गरेका छन् । अन्य प्रदेशमा मन्त्री परिषदको निर्णय बमोजिम दुध खरिद बिक्री भईरहेपनि कोशी प्रदेशमात्र मूल्य घटाईएको दुग्ध उत्पादक संघ झापाका उपाध्यक्ष दिनेश थापाले बताए ।
पशुपालनमा खर्च बढिरहेको र काम मूल्यमा दुध बिक्री गर्नु पर्दा कृषकहरुलाई पलायन हुने अवस्था आएको उत्पादक संघका सल्लाहकार सुदिप गौतम बताए ।
दुग्ध उत्पादक किसान बद्री निरौलाले मिल्ड होलिडे गर्नुभन्दा मुल्य घटाउनुपर्ने डेरी व्यवसायीको माग जायज नभएको बताउँछन् ।
उनले दुध नपाएर डेरी उधोगहरुले पाउडर बेच्ने दावी गरेका छन् । किसान धमाधम पलायन भइरहेको बेला दुधको समर्थन मुल्य उपलब्ध गराएर संरक्षण गर्नुपर्ने धारणा राखे ।