इलाम । इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात हुने गरेको पाइएको छ । माईजोगमाई गाउँपालिकास्थित नित्यराज दाहालले सञ्चालन गरेको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो । दाहालले १३ वर्षअघि स्थापना गरेको यस उद्योगबाट गत वर्षदेखि तेललगायत स्थानीय जडीबुटी तेस्रो मुलुक फ्रान्समा निर्यात हुन थालेको बताए । 

“हाम्रो उद्योगमा गाउँमा नै पाइने पाती, धूपी, मेन्था, धसिङ्गरेलगायत स्थानीय जडिबुटीबाट तेल निकालिन्छ । त्यसमध्ये हाल पाती, मेन्था र धूपीबाट प्रशोधित तेल विदेश निर्यात हुन थालेको दाहालको भनाइ छ । उनका अनुसार केहिदिनपछि जेरेनियम, जङ्गली सयपत्री, रोजमेरीलगायतबाट पनि तेल उत्पादन गर्ने तयारी भइरहेको छ । विदेशीले नेपाली प्राकृतिक वस्तु मन पराएर मागअनुसार उत्पादन गरिरहेको उनको भनाई छ ।

उनले आफू ओसोको अनुयायी भएकाले यहाँ ध्यान गर्न आएका विदेशीहरूले नै उत्पादित वस्तु खरिद गरेर लैजाने गरेको सुनाए । “सुरुसुरुमा विदेशीले पनि सामान्य रूपमा लिने गरेका थिए । पछि तेलको महत्वबारे जानकारी गराएपछि उहाँहरूले मन पराउनुभयो । उत्पादन गरेका सबै वस्तु बिक्री हुन थालेपछि हौसला बढेको छ”, दहालले भने ।

धूपीको तेल प्रतिकिलोग्राम दुई हजार ५००, तीतेपातीको तेल प्रतिकिलो छ हजार, मेन्थाको तेल प्रतिकिलो सात हजार र धसिंगरेको तेल प्रतिकिलो सात हजारमा बिक्री हुने गरेको छ । दाहालले ३५ रोपनी जमिनमा यस्ता विभिन्न वनस्पतिको खेती गर्दैआएका छन् । उनले स्थानीय किसानलाई उक्त खेतीतर्फ प्रोत्साहन गर्दै किसानले उत्पादन गरेको कच्चापदार्थ खरिद गर्दै आएको बताए । धूपी प्रतिकिलो रु आठ र तीतेपाती प्रतिकिलो रु चारले घरमै गएर खरिद गर्दा किसान पनि लाभान्वित भएका छन्”, दहालको भनाइ छ ।

गाउँका खाली जमिनको सदुपयोग गरेर स्थानीयस्तरमा नै व्यावसायिक उत्पादन गरिएको स्थानीय केशव दाहालले बताए ।

उत्पादित तेल रुघाखोखी, घाँटी दुखेको बेला प्रयोग गर्ने, चोट लागेको ठाउँमा मालिस गर्न र हाडजोर्नीको समस्या भएका, ढाड दुखेका बिरामीहरूले यसको बढी प्रयोग गर्ने गरेको दहालको भनाइ छ ।