काँकरभिट्टा । नाटक एबम् रंगमञ्चका क्षेत्रमा सक्रिय परिवर्तन थिएटरले भारतको राजस्थानमा आयोजना हुने अन्तराष्ट्रिय नाट्य महोत्सवमा नेपालबाट प्रतिनिधित्व गर्ने भएको छ ।
नेपाली मौलिकता, संस्कृति, भेषभुषा तथा हस्तकलाका सामग्रीको प्रयोगसहित भवानी भिक्षुको नाटक “त्यो फेरि फर्कला” नाटक मञ्चन एबम् प्रस्तुति गर्ने भएको छ ।
डिसेम्बर १८ देखि मार्च २७ तारिकसम्म सञ्चालन नाटकमा विश्वका विभिन्न देशका नाट्यकर्मीहरुले नाटक मञ्चन गर्ने कार्यक्रममा नेपालकै प्रतिनिधित्व गर्दै सहभागी हुने बिहीबार पत्रकारसमक्ष जानकारी दिइएको छ ।
महोत्सवमा सहभागि हुन परिवर्तन थिएटर ११ जना कलाकारको टोली माघ १७ गते भारतको राजस्थानतर्फ प्रस्थान गर्ने परिवर्तन थिएटरकी अध्यक्ष कविता नेपालले जानकारी दिइन् ।

उनका अनुसार विभिन्न देश सम्मिलित नाटक प्रस्तुति एक सय दिनसम्म सञ्चालन हुने नाट्य महोत्सवमा नेपाललकाे परिवर्तन थिएटरले माघ २१ गते अर्थात फेब्रुअरी ३ तारिकका दिन नाटक मञ्चन समयतालिका तय भएको अध्यक्ष नेपालले बताइन् ।
उक्त कार्यक्रममा ११ जनाको टोलीसहित परिवर्तन थिएटरबाट सहभागी हुन ६ दिनसम्म लाग्ने भएकाले खर्चको अभाव भएको जानकारी दिइएको थियो । अन्तर्राष्ट्रिय नाटक महोत्सवमा देशकै प्रतिनिधित्व गरेर रंगमन्च प्रस्तुति गर्न आगमन र खानबस्नका लागि आर्थिक अभाव भएको अध्यक्ष नेपालको भनाई थियो ।
नाटक रंगमन्च पनि एउटा बिद्या हो, परिवर्तन थिएटरको अध्यक्ष एबम् रंगकर्मीसमेत रहेकी नेपालले भनिन्,´स्थानीय तहले मेची नगरपालिकाले संस्था र रंगकर्मीको संरक्षण र प्रबर्द्धनका लागि हालसम्म सहयोग गरेको छैन ।´ समाजमा रहेका अन्य संस्थाहरु भन्दा फरक नाट्य विद्या रहेको रंगकर्मको क्षेत्रभित्र पनि पर्याप्त सम्भावना रहेकाले स्थानीय तहले संरक्षण र प्रबर्द्धन गर्न नगरसमक्ष समन्वय गर्ने बताइन् ।

संस्थाका सचिव शिशिर चौलागाईले अन्तर्राष्ट्रियस्तरमा सहभागी हुनपाउने अवसरले परिवर्तन थिएटरका लागि उचाई थपिने बताए । अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा अध्यक्ष एबम् निर्देशक कविता नेपाल, लोमश पौडेल, गणेश वस्नेत, अस्मित आचार्य, गगन क्षेत्री, झरना खनाल,, भावना गौतम, एन्जल निरौला, हिलारी पोर्तेललगायतको अभिनय रहने छ ।
आर्थिक अभावमा रङमन्च कला:
समाजमा विद्यमान सामाजिक गतिविधिलाई बढवा दिन र बिकृति बिसंगतिका विरुद्धमा सचेत गराउँदै नाट्यकलाको माध्यमबाट नियन्त्रण गर्न उद्देश्यले सडक र मन्चबाट प्रस्तुति देखाउँदै आएको छ । थिएटरले प्रस्तुत गर्ने कथावस्तु र नाटक मन्चनले दर्शक तथा आमनागरिकको मन खिचेको पाइन्छ ।
आम सर्वसाधारणलाई सुसुचित गर्दै सचेत गराउन दुरदराजमा रहेका सडक र सार्वजनिकस्थलमा नाटकमन्चन गर्दै अभियानको रुपमा प्रस्तुत गर्दै आएको छ ।
२०७२ बाट बैधानिक रुपमा दर्ताप्रक्रिया पुरापछि झापाको मेचीनगर-६, काँकरभिट्टाबाट देश तथा बिदेशमा पनि रङमन्चका क्षेत्रमा आफ्नो पहिचान दिँदै आएको छ । यसअघि उडिसामा र कलकत्तामा नाटक मन्चन गरिसकेको छ । `त्यो फेरि फर्केला´ नाटकको कथा वस्तुमा गाउँले परिवेशको जीवनशैली, पहाडी जिल्लाका दुर्दराजमा बसोबास गर्नेको अवस्थाको व्यंग्यचित्र, कष्टकर जीवनशैली, बिधवा महिलाले भोगाई लगायत कारुणिक कथावस्तुसहितको नाटक मन्चन गर्दै आएको छ । थिएटरले भवानी भिक्षुका नाटक 'त्यो फेरि फर्कला ?' मञ्चनलाई पहिलो प्राथमिकतामा राखेको छ । अन्य कथावस्तुमा पनि उत्तिकै महत्त्व दिँदै आएको छ । तर, कथा वस्तुअनुसार पुर्णतयारी गर्न लागि समय, अभिनय प्रशिक्षणका लागि आर्थिक भारपर्दै आएको अध्यक्ष नेपालको भनाई छ । आर्थिक अभावले पुराना कलाकार टिक्न नसक्ने र नयाँ कलाकारलाई पनि प्रभाव पर्दै आएको पाइन्छ ।