बिर्तामोड । राष्ट्र ,राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले हिन्दु विश्वविद्यालयको भुमि पुजा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने कार्यक्रम तय गरिएको बताएका छन् । बिर्तामोडमा आयोजना गरिएको बृहत कार्यक्रममा सम्बोधन गर्दै प्रसाईँले आफूले बिर्तामोडमा हिन्दु विश्वविद्यालय खोल्न लागेको जानकारी दिदै त्यसको भुमी पुजा गर्ने भारतका प्रधानमन्त्री मोदी आउने कार्यक्रम तय गरिएको बताएका हुन् । यदी उहाँ ब्यस्त हुनुभयो भने भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई बोलाएर भूमि पूजन गर्ने प्रसाईंको भनाई थियो ।
उनले नेपाल हिन्दु विश्वविद्यालय दर्ता गर्न जाँदा हिन्दु भन्ने शब्दलाई सरकारले ब्लाकलिस्टमा राखेर दर्ता नदिएपछि सर्वोच्च अदालतमा गएको जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधनका क्रममा प्रसाईं बिर्तामोडबासीसंग आक्रोशित बनेका थिए ।अपेक्षित सहभागी नभएपछि बीएण्डसी अस्पतालका सञ्चालक समेत रहेका प्रसाईँ आक्रोश व्यक्त गरेका थिए ।
नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईँको स्वागत तथा सम्मानमा बिर्तामोडमा आयोजित कार्यक्रममा अपेक्षित बिर्तामोडबासीहरुको उपस्थिति थिएन ।
बिर्तामोडबासीहरुप्रति अत्यन्त आक्रोशित देखिएका प्रसाईँले भने,‘ म मरे भने मलामी पनि नआउनु ।’ उनले बिर्तामोडका मानिसहरूलाई जिउँदो लासको संज्ञा दिँदै आफ्नो अभियानलाई साथ नदिएकोमा आक्रोश व्यक्त गरे ।
बीएण्डसी अस्पताल खोल्न लाग्दा खिल्ली उडाएको बिर्तामोडको समाजले अहिले पनि नपत्याएको उनको गुनासो थियो ।‘यहाको समाजले मलाई देखेर हाँस्न छाडेको छैन, पत्याउँदै पत्याएन’ उनले भने,‘ यो कुरा बुझ्नुस् १८ प्रतिशत बैङ्कको ब्याजदर मेरै कारणले ७ प्रतिशतमा झरेको हो । ’