धुलाबारी । आजबाट ‘दोस्रो मेची महोत्सव–२०८१’ सुरु हुँदैछ । मेची चेम्बर अफ कमर्स मेचीनगरको आयोजनामा धुलाबारीमा लगाइने महोत्सवको उद्घाटन नेपाल सरकारका उपसभामुख इन्दिरा राना मगरले गर्ने कार्यक्रम तय गरिएको छ । झापा अर्जुनधारा निवासी उपसभामुख राना मगर हिजै गृहनगर आइपुगेकी छिन् ।
महोत्सव उद्घाटन अघि धुलाबारीमा लागूऔषध विरुद्धको सचेतना र्याली आयोजना गरिँदैछ । विभिन्न संघसंस्थाको सहभागितामा र्याली निकालिने आयोजक मेची चेम्बर अफ कमर्सका महासचिव प्रकाश खड्काले जानकारी दिए । उनका अनुसार २० वटा स्टलहरु बुकिङ भइसकेका छन् ।
केही स्टलहरु निःशुल्क गरिएको छ । स्थानीय क्षेत्रको कृषि तथा उद्योगबाट उत्पादित वस्तुको प्रवद्र्धन, पहिचानसहित बजारीकरण र लागूऔषध नियन्त्रणको मुख्य योजना बनाएर नौ दिने महोत्सव आयोजना गरिएको हो ।
अन्य मेला–महोत्सवभन्दा छुट्टै विशेषतासहित सञ्चालन गरिएको दोस्रो महोत्सवमा कृषि र उद्योगबाट उत्पादित स्थानीय वस्तुको प्रवद्र्धन तथा बजारीकरणसहित समाजमा ब्याप्त बनेको लागूऔषध दुर्ब्यशनी नियन्त्रणका लागि जनचेतनामूलक छलफल र सुझाव लिने जनाइएको छ ।
स्थानीय क्षेत्रमा उत्पादन सामाग्रीलाई कसरी बजारीकरण गर्ने भन्ने बिषयमा सन्देश दिन अर्गानिक ढंगले महोत्सव लगाइएको छ । महोत्सव अवधिभर हरेक साँझ स्थानीय तथा चर्चित राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ । महोत्सव माघ १२ गतेसम्म सञ्चालन हुनेछ ।