झापा । निकासी तथा पैठारीमा बाराम्बार चलखेल हुन थालेपछि सांसदहरूले सुपारीको ‘डीएनए टेस्ट’ हुनुपर्ने माग गरेका छन् ।सुपारीकै विषयमा पटक-पटक छलफल गर्नु उपयुक्त नरहेको भन्दै सांसदहरूले सुपारीको डीएनए परीक्षणका लागि ल्याब स्थापना गर्न माग गरेका हुन् ।

राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिद्वारा सोमबार काठमाडौंमा आयोजित ‘नेपालमा उत्पादित सुपारी निर्यात व्यवस्थापन’ सम्बन्धी छलफलका क्रममा उनीहरूले यस्तो माग गरेका हुन् ।

सांसदहरूले भनेझै सुपारीको डीएनए परीक्षणका विषयमा भने कृषि वैज्ञानिकहरूले नै आश्चर्य प्रकट गरेका छन् । सांसदले सुपारीको डीएनए टेस्टको कुरा उठाएपछि आफूहरू के हो डीएनए टेस्ट भनेर कृषि वैज्ञानिकहरूलाई सोधेको नेपाल सुपारी खेती विकास संस्थाका उपाध्यक्ष नीलकण्ठ तिवारी बताउँछन् । 

यो विषयमा आफूले कृषि वैज्ञानिकहरू डा. भानुभक्त पोखरेल र डा. गोविन्द तिम्सिनालाई सोधेको उनले बताए । ‘उनिहरूलाई सोध्दा सुपारीको डीएनए टेस्ट नहुने बताए,’ तिवारीले भने, ‘मलाई त थाहा थिएन, थिएन, वैज्ञानिकहरूलाई पनि थाहा नभएको कुरा बताए ।’

राष्ट्रिय समाचार समितिका अनुसार, संसदीय समितिको छलफलमा बोल्दै राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले सुपारीकै विषयमा पटक–पटक छलफल गर्नु उपयुक्त नभएको बताएर उनले सुपारीको डीएन परीक्षणका लागि ल्याब स्थापना गर्नुपर्ने माग गरेका थिए । 

सुपारी निर्यातबाट मुलुकको राजस्व बढाउन सकिने उनको धारणा थियो । अर्का सदस्य झक्कुप्रसाद सुवेदीले सुपारी निर्यातको विषयमा विस्तृत रुपमा छलफल हुनुपर्नेमा जोड दिए । 

‘एउटै विषयमा छलफल धेरै भयो । पटक–पटक छलफल गरिरहनुभन्दा गहन रुपमा छलफल गरेर टुंगोमा पुग्नुपर्छ,’ उनले भने, ‘डीएनए परीक्षण नगरीकन सुपारी निकासी गर्न मिल्दैन भने सोअनुसारको निर्णय टुंगोमा पुर्याउनुपर्छ ।’

छलफलका क्रममा समितिकी सभापति कमला पन्तले आफ्नो उत्पादन आफैले खपत गर्नुपर्ने, नसके निर्यातका लागि पहल गर्नुपर्नेमा जोड दिएकी थिइन् । 

सोही छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गुट्काबाट १० अर्ब रूपैयाँ राजस्व संकलन भएको जानकारी दिए । अहिले तेस्रो मुलुकबाट सुपारी आयात भइरहेको पनि मन्त्री भण्डारीले छलफलका क्रममा जानकारी दिए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले तेस्रो मुलुकमा सुपारी निर्यात बढाउनका लागि डीएनए टेष्ट र गुणस्तर प्रमाणीकरण गर्न आवश्यक रहेको बताए