फ्रान्सेली राष्ट्रपति ईमानुयल म्याक्रोनको नियोजित पेन्सन सुधार प्रस्तावलाई चुनौती दिन मजदुर युनियनहरुले बिहीबार आयोजना गरेको देशव्यापी हडतालका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ ।
राजधानी पेरिस, बोर्दो, लियोंन र मार्सेईलगायतका केही सहरमा आन्दोलनकर्मी र प्रहरीबीच तनाव झडप भएको हो । पेरिसको ऐतिहासिक स्थल प्लास दला रेपुब्लिक नजिकै केही प्रदर्शनकारीहरूले गाडीहरू जलाएका छन् । त्यहाँ प्रहरीमाथि ढुंगा र काठका टुक्राले प्रहार गर्न थालेपछि सुरक्षाकर्मीहरुले अश्रु ग्यास प्रहार गरेको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।
हडतालका कारण यातायात बन्द भएको छ । विद्यालय र अस्पतालहरूलाई कर्मचारीविहीन बनाउँदा आधारभूत सरकारी सेवाहरू उपलब्ध छैनन् । विरोध प्रदर्शनले उद्योग, यातायात, शिक्षा र स्वास्थ्य क्षेत्रमा गम्भीर प्रभाव परेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।
यस्तै बैंक, बिमा कम्पनी, मस्जिद, चर्च, यातायातलगायत प्रमुख क्षेत्रहरुको सुरक्षाका लागि सरकारले हजारौं संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । सुरक्षाकर्मीमाथि आक्रमणमा उत्रिएको भन्दै स्थानीय समयअनुसार अपराह्न साढे ३ बजेसम्ममा ९१ जनालाई नियन्त्रणमा लिएको पेरिस प्रहरीले जनाएको छ ।
कर्मचारी अभावका कारण बिहीबारका लागि ईजिजेट, रायन एयर, युरोविङ लगायतका कम्पनीहरुले उडान समेत रद्द गरेका छन् । लामो दुरीमा चल्ने टिजिभी, युरोस्टार, ट्रान्भिया लगायतका रेलवे कम्पनीहरुले पनि पूर्वघोषित रेल सञ्चालन तालिक रद्द गरेकाले युरोपभरि प्रभाव परेको छ ।
एजेन्सीबाट



















































