काठमाडौं । समाचार लेखेकै आधारमा पत्रकारलाई समाचार कक्षबाटै नियन्त्रणमा लिएको प्रहरीले चौतर्फी  दवाबपछि तिनै जनालाई रिहा गरेको छ ।शुक्रबार नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका पत्रकार शोभराज बराल र डीएनए खबरका पत्रकार धिरज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यस्तै, नयाँ पत्रिका दैनिकको कार्यालयमा समेत सादा पोशाकका प्रहरी पुगेर संवाददाता नवराज मैनालीलाई साइबर ब्यूरो लैजानुपर्ने भन्दै खोजी गरेको घटनाले सञ्चार क्षेत्र थप सशंकित बनेको थियो।

पत्रकारलाई समाचार कक्षबाटै नियन्त्रणमा लिने र सञ्चारगृहमा प्रहरी प्रवेश गराउने घटनाले नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि राज्य संयन्त्रबाटै हस्तक्षेप भइरहेको भन्दै पत्रकार महासंघ, प्रेस स्वतन्त्रताका पक्षधर र विभिन्न राजनीतिक दलले विरोध जनाएका थिए।

चौतर्फी दबाब र विरोधपछि नियन्त्रणमा लिइएका तीनै जना पत्रकारलाई प्रहरीले रिहा गरेको छ। तर, रिहाइ हुँदैमा पत्रकारमाथि भएको हस्तक्षेप र सञ्चारगृहमा प्रहरी प्रवेश गराइएको घटनाको गम्भीरता समाप्त नहुने भन्दै राज्य संयन्त्रको कार्यशैलीमाथि प्रश्न उठेको थियोे ।  

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले समाचार कक्षबाटै पत्रकारलाई नियन्त्रणमा लिने कार्यलाई राज्य आतंकको संज्ञा दिएका छन्। उनका अनुसार समाचार कक्षमा प्रहरी पुगेर पत्रकारलाई उठाउनु संविधान, प्रेस स्वतन्त्रता र अन्तर्राष्ट्रिय कानुनी मान्यताविपरीतको कार्य हो।

त्यस्तै, प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु गैरसंवैधानिक हुने बताएका छन्। समाचारमा त्रुटि भए सच्याउने र कानुनी प्रक्रियाबाट कारबाही गर्ने व्यवस्था हुँदाहुँदै पक्राउलाई पहिलो विकल्प बनाउनु उचित नहुने उनको तर्क छ।चौतर्फी दवावपछि पत्रकार रिहा भए पनि प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र राज्य संयन्त्रको कार्यशैलीबारे गम्भीर प्रश्न उठेको छ ।