झापा । जङ्गली हात्तीको उपद्रो र बढ्दो  जोखिममा धानबाली उठाउन झापाको बाहुण्डाँगीमा सुरक्षाकर्मी खेताला बनेर किसानको धान काट्न खेतमै उत्रिएका छन् ।

मानव–हात्ती द्वन्द्वबाट प्रभावित किसानको धानबाली जोगाउने र सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले सशस्त्र प्रहरी, नेपाल प्रहरी, मानव–हात्ती द्वन्द्व व्यवस्थापन समिति, आरआरटी टोली, स्थानीय जनप्रतिनिधि तथा किसानहरू संयुक्त रूपमा धान काट्ने अभियानमा सहभागी भएका हुन् ।

हात्तीको नियमित आवागमन र चाप बढिरहेका बेला खेतमा पाकेको धान समयमै भित्र्याउन कठिन भइरहेको किसानलाई राहत पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको अभियानले सुरक्षा निकायप्रतिको परम्परागत बुझाइलाई समेत नयाँ सन्देश दिएको छ ।

धानबारीमै पुगेका सुरक्षाकर्मीले किसानसँगै धान काटेर सहयोग गरेपछि स्थानीय सरकारका तर्फबाट खादा लगाएर सम्मान तथा प्रोत्साहन गरिएको थियो । खेतमै मोही र मकै खाएर ग्रामीण परम्परा र आत्मीयता साटासाट गरिएको उक्त अभियानले किसान र सुरक्षाकर्मीबीचको सम्बन्धलाई थप बलियो बनाएको सहभागीहरूको भनाइ छ ।

किसानको खेतमा सुरक्षाकर्मी, सुरक्षाको नयाँ परिभाषा सुरक्षा निकायलाई सीमा सुरक्षा, चोरी, तस्करी तथा अपराध नियन्त्रणसँग जोडेर हेर्ने गरिए पनि विपद् र संकटका बेला नागरिकको दुःखमा साथ दिनु पनि सुरक्षाको महत्वपूर्ण दायित्व भएको यस अभियानले देखाएको छ ।

हात्ती प्रभावित क्षेत्रमा किसानको धान काट्न सुरक्षाकर्मी खेताला बनेर उत्रिनु केवल श्रमदान मात्र नभई मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सामुदायिक सहकार्यको उदाहरण बनेको छ ।

धानबाली भित्र्याउने समयमा हात्तीको जोखिम बढ्दा किसानलाई एक्लै संघर्ष गर्नुपर्ने अवस्थाबाट राहत दिलाउन यस्ता सामूहिक प्रयास प्रभावकारी हुन सक्ने स्थानीयको अपेक्षा छ ।

अभियानमा जिल्ला प्रशासन कार्यालय झापा, सशस्त्र प्रहरी बल नेपाल नं. २ गण, जिल्ला प्रहरी कार्यालय झापा, डिभिजन वन कार्यालय झापा, स्थानीय सुरक्षा कार्यालय, मानव–हात्ती द्वन्द्व व्यवस्थापन समिति, आरआरटी टोली, स्थानीय जनप्रतिनिधि तथा किसानहरूको सहभागिता रहेको थियो ।

मानव–हात्ती द्वन्द्वको समस्या समाधानका लागि सुरक्षा निकाय, वन कार्यालय, स्थानीय सरकार र समुदायबीच समन्वय आवश्यक रहेको अभियानले स्पष्ट पारेको छ ।

किसानको खेतमा सुरक्षाकर्मीको उपस्थितिले नागरिकको सुरक्षा केवल बन्दुक र गस्तीमा सीमित नभई नागरिकको जीवन, जीविका र सम्पत्तिको संरक्षणसँग समेत जोडिएको सन्देश दिएको छ ।

‘किसानको हात, वडाको साथ’ भन्ने नारासहित अघि बढाइएको अभियानले मानिस, हात्ती र प्रकृतिबीच सहअस्तित्व कायम गर्न सामूहिक प्रयास आवश्यक रहेको मेचीनगर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिए ।