झापा । झापा चाडपर्व नजिकिएसँगै मासुको मूल्यमा भएको वृद्धिले उपभोक्ता मारमा परेका छन् । खसी, कुखुरा र माछाको मूल्य व्यवसायीले आफूखुसी बढाएको भन्दै उपभोक्ताले प्रश्न उठाउन थालेका छन् । तर, बजारमा मूल्यवृद्धि नियन्त्रण तथा नियमन गर्ने निकायले मासु पसलमा प्रभावकारी नियमन नगरेको उपभोक्ताले गुनासो गरेका छन् । हाल मेचीनगरका बजारमा खसीको मासु प्रतिकिलो १ हजार २०० रुपैयाँ, कुखुराको मासु ४६० रुपैयाँ र माछा ४२० रुपैयाँसम्म पुगेको उपभोक्ताहरूको भनाइ छ ।

उपभोक्ताका अनुसार यसअघि प्रतिकिलो १ हजार रुपैयाँ रहेको खसीको मासुको मूल्य बढाएर १ हजार १०० रुपैयाँ पुर्‍याइएको थियो । त्यसपछि पुनः बढाएर १ हजार २०० रुपैयाँ बनाइएको छ। त्यसैगरी, कुखुराको मासु प्रतिकिलो ३६० रुपैयाँबाट बढाएर ४२० रुपैयाँ र अहिले ४६० रुपैयाँसम्म पुर्‍याइएको बताइएको छ । त्यस्तै अन्य सुँगुर, रागा लगायत मासुको मूल्यवृद्धिबारे व्यवसायीसँग प्रश्न गर्दा खसी तथा कुखुरा, सुगुर पाउनै गाह्रो भएको र बजारमा उपलब्ध भए पनि खरिद मूल्य नै बढेको जवाफ दिने गरेको उपभोक्ताहरू बताउँछन् । खरिद मूल्य बढेको आधार, लागत विवरण र मूल्यवृद्धिको औचित्यबारे सम्बन्धित निकायले छानबिन गर्नुपर्ने उनीहरूको माग छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ ले उपभोक्तालाई प्रतिस्पर्धात्मक मूल्यमा वस्तु छनोट गर्न पाउने अधिकार सुनिश्चित गरेको छ। ऐनको दफा २० अनुसार व्यवसायीले बिक्रीस्थलमा स्पष्ट देखिने गरी मूल्यसूची राख्नुपर्छ । दफा २१ ले वस्तुको मूल्य निर्धारण गर्दा उत्पादन लागत, ढुवानी खर्च, कर तथा निर्धारित मुनाफालाई आधार मान्ने व्यवस्था गरेको छ। त्यस्तै, ऐनको दफा २८ र २९ ले स्थानीय बजार अनुगमन समिति तथा अनुगमन टोलीसम्बन्धी व्यवस्था गरेको छ।