काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता  तथा सरसफाइ संस्थाले तीन जनालाई सम्मान गरेको छ । ३० औं बार्षिक साधारण सभाको अवसर पारेर संस्थाले दुईजना ज्येष्ठ उपभोक्ता र एकजना कर्मचारी (सवारी चालक) लाई सम्मान समेत गरेको हो । दुईजना उपभोक्तालाई जनही नगद ५ हजार र कर्मचारीलाई ७ हजार पुरस्कार प्रदान गरिएको थियो ।

सम्मानित हुनेहरुमा विगत एघार वर्षदेखि निरन्तर जरिवाना नतिरी पानीको विल तिरिरहेका ज्येष्ठ उपभोक्ता ८८ वर्षीय दिलबहादुर गुरागाई, ८१ वर्षीया अम्बिकादेवी ढुंगेल र संस्थाका कर्मचारी सवारी चालक खेमराज खतिवडा रहेका छन् । उनी हरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद गोपाल तामाङले नगदसहित सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि तामाङले खानेपानी विशुद्व सामाजिक संस्था भएकाले सरकारलाई कर नर्तिन अनुरोध गरेका छन् ।

खानेपानी संस्थाहरुको महासंघलाई आन्दोलन गर्न र प्रदेशमा पनि कुरा उठाउने उनको भनाई छ । उक्त संस्थाका पूर्व अध्यक्ष समेत रहेका तामाङ नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक पनि हुन् ।

कार्यक्रममा कोशी प्रदेशका पूर्व सांसद श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिका पूर्वनगरप्रमुख विमल आचार्य, मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेती लगायतले खानेपानी संस्थालाई मजवुत बनाउन सबैको सहकार्य आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकीले प्रविधि मैत्री आयोजना, जिआइएसको कार्यान्वयन, जेनेरेटर खरिद, कायालर्य परिसरको सौन्दर्यकरण, संस्थाको नयाँ सभाहल, नगरविकास कोषको साँवा व्याज भुक्तानी, दिशाजन्य लेदो व्यवस्थापन तथा सेफ्टी टेङ्की सञ्चालन, थप नयाँ धारा तथा सहुलियत धारा जडान, पानीको गुणस्तर, सामाजिक सहभागिताको रकम, आगामी योजनाहरु, संस्थाका अवसरहरु र चुनौतिका विषयको प्रतिवेदन प्रस्तुत गरेका थिए । रोहितकुमार बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष गोविन्द गिरीले र सञ्चालन सचिव विशाल तामाङले गरेका थिए ।