मेचीनगर मेची उद्योग बाणिज्य संघले आयोजना गरेको डोर टोलीबाट १३४ जना व्यापारीको ढक, तराजु परीक्षण तथा ११७ जनालाई नवीकरण अनुमतिपत्र वितरण गर्दै सम्पन्न गरेको छ । व्यवसायीको सुविधाका लागि स्थानीय मेचीनगरका बजारहरु काँकरभिट्टा, इटाभट्टा, धुलाबारी, धाइजन र चारआली चोक बजारमै डोर टोली राखेर सेवा दिइएको  मेची उद्योग बाणिज्य संघले जनाएको छ ।
 यसअघि प्रत्येक व्यवसायीले आफुले प्रयोग गर्ने नापतौल तथा औजार झापाको भद्रपुरस्थित गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरमा पुर्याएर जाँच गर्दै आएका थिए । मेची उद्योग बाणिज्य संघमा अध्यक्ष खेम प्रसाईले आफ्नो कार्यकाल सुरु भएसँगै गुणस्तर तथा नापतौल कार्यालयसम्म उपकरण ढुवानी गरेर जाँच गर्नुपर्ने बाध्यताबाट व्यवसायी मुक्त बनेको बताए । गुणस्तर तथा नापतौल कार्यालयसम्म ढक, तराजु परीक्षण गर्न पुर्याउँदा समय र रुपैयाँ पैसा दुवै खर्च हुने गरेको थियो । तर, व्यवसायीलाई पायक पर्ने बजारमै उक्त सेवा पाउँदा व्यवसायी उत्साहित बनेको उनको भनाई छ । सात दिने डोर टोलीबाट सेवा लिन छुटेका व्यवसायीले कार्यालयमै पुगेर सेवा लिन अध्यक्ष प्रसाईको आग्रह थियो ।
गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरको सहकार्यमा मेचीनगरको पाँच ठाउँमा उक्त कार्यका लागि डोर टोली खटिएको थियो । यस्तै डोर टोलीले पुस २३ गते पहिलो दिन काँकरभिट्टास्थित होटल बोर्डरल्याण्ड परिसरमा ४२ जना व्यवसायीले ढक, तराजु जाँच गरे भने र ३३ जना व्यवसायीहरुले स्थलगत रुपमा नै नविकरण गरेका थिए । डोर टोलीमा गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरका सहायक निरीक्षक अमितकुमार कर्ण, सिनियर मिस्त्री (सीमी) द्वय हरेराम महतो र अञ्जिता रेग्मी, कार्यालय सहायक पुना घिमिरे तथा संघका कर्मचारीहरु चेतबहादुर विक, हरिमाया बराल लगायत पनि खटिएका थिए ।
पुस २४ गते मेचीनगर–७, ईटाभट्टा स्थित अधिकारी किराना अगाडि डोर टोलीबाट ३२ जना व्यवसायीहरूले काँटा, ढक, तराजु, लिटर, मिटर जाँचको अनुमतिपत्र लिएका थिए भने २४ जनाले सदस्यता नविकरण गरेको संघले जनाएको छ । 
यसैगरी सोमबार धाइजन मोडस्थित अधिकारी एग्रो भेट्स छेउमा डोर टोलीले गरेको उक्त कार्यमा २७ जना व्यवसायीको ढक, तराजुको नाप, तौल र जाँच गरेको थियो । त्यस्तै २१ जना व्यवसायीले सदस्यताा नविकरण गरेका थिए । यता पुस २५ गते धुलाबारी स्थित संघको सचिवालय परिसरमा आयोजना भएको ढक, तराजुको नाप, तौल र जाँचमा ३४ जना व्यवसायी सहभागी थिए । २३ जना व्यवसायीले सदस्यता नविकरण गरे । 
चारआलीस्थित पूर्वबस स्टेण्ड नजिकै मंगलबार मंगलदीप सप्लायर्स अगाडि डोर टोली खटिएको थियो । चारआलीका ३१ जना व्यवसायीको ढक, तराजुको नाप, तौल र जाँच गरेको थियो । त्यस्तै १६ जना व्यवसायीले सदस्यताा नविकरण गरेका थिए । संघले गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरको सहकार्यमा वर्षेनी मेचीनगरमा व्यवसायीहरुको ढक, तराजु जाँच तथा सदस्यता नविकरणलाई निरन्तरता दिइरहेको छ ।
डोर टोलीसँग मेची उद्योग बाणिज्य संघ अध्यक्ष खेमराज प्रसाई, उद्योग उपाध्यक्ष भूमि पौडेल, बाणिज्य उपाध्यक्ष कञ्चन बराल, महिला उपाध्यक्ष नर्मिला चौहान भण्डारी, महसचिव दिनेश शाक्य, सदस्यहरु सन्तोष खवास, मानकुमार कटुवाल, विनोद बानियाँ, तिलक (युवारज) विक, राजेश बंशल, कार्यकारी प्रमुख गोपाल वस्नेत लगायतको सक्रिय सहभागिता रहेको थियो ।