मेचीनगर । पुर्वकै लागि पुरानो खानेपानी संस्थाको रुपमा रहेको झापाको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले आरओ गरेको पानी नखान आग्रह गरेको छ ।
शुक्रबार संस्थाको पानी सुरक्षा टोलीले गरेको सुरक्षित खानेपानीको महत्व विषयको अन्तरक्रियामा उच्च कुल घुलनशील ठोस पदार्थ (टीडीएस) नभएको आरओ मात्र गरेको पानी नखान उपभोक्ताहरुलाई अनुरोध गरेको हो ।
उक्त खानेपानी कार्यालयका प्रमुख दीपक पोखरेलले प्रोजेक्टरमार्फत प्रस्तुतिकरणमा बजारमा पाइने आरओ मात्र गरिएका बोतल, जार अन्य प्रकारका टीडीएस नभएका प्रशोधित पानी नखान सुझाव दिएका थिए ।
उनले विश्व स्वास्थ्य संगठनले नै खनिजतत्व भएको ०.३, म्याग्नेसियम ०.३, क्याल्सियम २०० पीपीएम हुनुपर्ने, शुद्व पानीको पीएच ६.५ देखि ८.५ हुनुपर्ने, ५० देखि १५० सम्म टीडीएस भएको पानी मात्र पीउन योग्य हुने स्पष्ट परेका थिए ।
आरओ प्रक्रियाले पानीमा हुने ९२ देखि ९९ प्रतिशतसम्म मानिसलाई नभई नहुने क्याल्सियम र म्याग्नेसियम पानीबाट हटाइदिन्छ । यो भनेको मानव स्वस्थको लागि अत्यन्त प्रतिकूल अवस्था हो ।
जीवन अनियन्त्रित सहरीकरणको चपेटामा परेपछि प्लास्टिकको बोतलमा पानीलाई आरओ प्रक्रियाबाट शुद्ध गर्ने र वैज्ञानिक रूपमा शुद्ध रहेको दावीका साथ बजारमा बिक्री गरिँदैआएको छ ।
अन्तरक्रिया कार्यक्रममा पानी परीक्षण क्षेत्रीय प्रयोगशाला इटहरीका प्रमुख रमेश यादवले किटाणुरहित सुरक्षित खानेपानीका लागि प्रत्येक दिन अम्लियपन, धमिलो पानी र कोलिफर्म व्याक्टेरिया छ, छैन भनेर परीक्षण गर्नुपर्ने बताएका थिए ।
उनका अनुसार मानिसको शरिरमा ५० देखि ७० प्रतिशत पानी हुन्छ । साढे २८ प्रतिशतले मात्र सुरक्षित पानी खाइरहेका छन् । सरकारले आगामी सन २०३० सम्ममा ९० प्रतिशत जनतामा सुरक्षित खानेपानी पुर्याउने राष्ट्रिय लक्ष्य लिएको जनाएको थियो।
कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष तथा उपभोक्ताहरु शुभद्रा भट्टराई, अमर परियार, घनश्याम लामिछाने, धीरजराज शर्मा, सुरज सुवेदी लगायतले आफुहरुले पिउदै आएको पानी कुन स्तरको हो भन्ने जिज्ञासा राखेका थिए ।
संस्थाका सचिव एवम् पानी सुरक्षा टोलीका संयोजक विशाल तामाङले संस्था मातहतका ६ वटा ट्याङ्कीको दैनिक परिक्षण र २/३ महिनामा ल्याव टेष्ट गर्ने गरेको जानकारी दिए ।
संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकीले राज्यको कानुन बमोजिम पानी सुरक्षा मिति गठन गरेर धारामा धमिलो पानी, लेदो पानी, कालो पानी, पाइप फुट्ने, चोरी हुने समस्या लगायतका विषयमा कार्यालयले थाहा पाएसम्म समाधान गरिरहेको बताए ।
पानी सुरक्षा टोलीका संयोजक विशाल तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य सचिव रघु खतिवडाले गरेका थिए ।



















































