बिर्तामोड । झापा बिर्तामोड नगरपालिकाले किसानलाई प्रोत्साहन गर्न विभिन्न प्रकारका कृषि औजार वितरण गरेको छ ।

कृषि विकास शाखा मार्फत ७० प्रतिशत अनुदानमा ११ थान चिया टिप्ने मेसिन, २४ थान मकै छोडाउने मेसिन र ५० प्रतिशत अनुदानमा ६२ वटा इलेक्ट्रिक स्पेयर वितरण गरिएको हो ।

९ लाख २४ हजार मुल्य बराबरको कृषि सामग्रीमा किसानले ३ लाख ४५ हजार ५ सय रुपैयाँ लगानी गरेका छन् भने नगरपालिकाले ५ लाख ७८ हजार ५ सय रुपैयाँ लगानी गरेको कृषि विकास शाखा प्रमुख राजेन्द्र प्रसाद कडरियाले जानकारी दिए ।

नगरपालिकाले हरेक वर्ष आधुनिक कृषि प्रविधि वितरण गर्दै आएको छ। नगर प्रमुख पवित्रादेबि  महतारा प्रसाईले कृषि क्षेत्रमा काम गर्न सहयोग गर्ने उद्देश्यले यो वर्ष पनि छनौटमा परेका किसानहरुलाई कृषि मेसिन वितरण गरिएको बताइन् ।

उनले परम्परागत कृषि प्रणालीले जीवन धान्न कठिन हुने भएकाले आधुनिक प्रविधिको प्रयोग गरेर व्यवसायिक बन्न जोड दिइन् । कृषकलाई सहयोग गर्न नगरपालिका तयार रहेको भन्दै नगरप्रमुख प्रसाईले आधुनिक र सृजनात्मक योजना बनाउन पनि गरेकी थिइन् ।

कार्यक्रममा नगर उप-प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बिर्तामोड नगरपालिका किसानको हितमा काम गर्दै आएको र आगामी दिनमा पनि थप व्यवस्थित रुपमा काम गर्न तयार भएको धारणा राखेका थिए । उनले कृषि सामग्रीको अधिकतम प्रयोगबाट उत्पादन र आम्दानी वृद्धि गर्न सूझाव दिए ।

बिर्तामोड नगरपालिकाले २०७४ सालदेखिने यस प्रकारका मेसिन तथा औजारहरु वितरण गर्दै आएको छ । अहिलेसम्ममा मकै छोडाउने मेसिन १८० वटा , चिया टिप्ने मेसिन २५ वटा, कृषि चुन, मल्चिङ, टनेल, विषादी, विउविजन, रेफ्री फ्रिज लगायतका सामाग्री सहयोग गर्दै आएको छ ।

कृषि मेसिन वितरण कार्यक्रममा वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्मा, कार्यपालिका सदस्य संगिता सिवा, शर्मिला राजवंशी, सिता ढुंगाना विक, तिला गौतम, वडा नम्बर ८ का वडासदस्य अग्निप्रसाद सिटौलालगायतको सहभागिता रहेको थियो ।