हल्दीबारी । हावाहुरीले घर भत्किँदा काठले किचेर मृत्यु भएका मानबहादुर मगरको परिवारलाई हल्दिबारी गाउँपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ ।

झापाको हल्दिबारी गाउँपालिका-५ मा बैशाख ३१ गतेराति आएको हावाहुरीले मगरको घर भत्काएको थियो । ओछ्यानमा सुतेको अवस्थामै मगरलाई घरको काठले किचेर मृत्यु भएको थियो । 

गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, योजना शाखा प्रमुख राजन न्यौपाने, वडाध्यक्ष खड्क लावती लगायतले पीडितको घरमा पुगेर परिवारलाई ५० हजार रुपैयाँ नगद हस्तान्तरण गरेका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनका अनुसार उक्त राहत गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराइएको हो ।

दैवीप्रकोपबाट घाइते भएकाहरूलाई हल्दिबारी गाउँपालिकले प्रभावित नागरिकप्रति तत्काल राहत स्वरूप सहयोग उपलब्ध  आफ्नो कर्तव्य निर्वाह गर्दै आएको अध्यक्ष लिङ्देनले बताए ।